


काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अध्यादेशबाट संबैधानिक परिषदमा बहुमतको ब्याख्या गलत भएको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै उपसभापति शर्माले बहुमत भनेको बहुसंख्यक नै हुनुपर्छ भन्दै सर्वोच्च अदालतको ब्याख्याको पालना सबैले गर्नुपर्ने बताएका छन् ।

उनले उत्तर कोरियामा बाहेक विश्वव्यापी लोकतान्त्रिक मान्यतामा यहि हुन्छ भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । उनले भनेका छन्- ‘संविधानको धारा १२८(४) भन्छ- सर्वोच्चको व्याख्या सबैले पालना गर्नुपर्छ ! अर्थात बहुमत हुन बहुसंख्या हुनैपर्छ । उत्तर कोरियामा बाहेक विश्वव्यापी लोकतान्त्रिक मान्यता स्पष्ट रुपमा यहि नै हो ।’

संबिधानमा संबैधानिक परिषदमा ६ जना रहने व्यवस्था छ भने प्रधानन्यायाधीश सिफारिस गर्ने बैठकमा कानुनमन्त्रीसमेत रहने गरी ७ सदस्यीय हुने गर्दछ । तर सरकारले ४ जनाको उपस्थितिमा बैठक बस्न सक्ने र ३ जनाको सहमतिमा प्रस्ताव पारित हुनसक्ने गरी अध्यादेश ल्याएर यसअघिको व्यवस्था संशोधन गरेको छ ।



