


सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले संविधानले पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरेको उल्लेख गर्दै सरकार पत्रकारितामाथि कुनै प्रकारको अंकुश लगाउने तयारीमा नरहेको स्पष्ट पार्नुभएको छ ।
राष्ट्रिय पत्रकारिता दिवस–२०८३ को अवसरमा बिहीवार काठमाडौंमा आयोजित राष्ट्रिय पत्रकारिता पुरस्कार तथा वरिष्ठ पत्रकार सम्मान कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । लोकतन्त्रको सुदृढीकरणका लागि स्वतन्त्र, निष्पक्ष र मर्यादित पत्रकारिता अपरिहार्य रहेको उहाँको भनाइ छ ।

उहाँले सामाजिक सञ्जालको दुरुपयोग र फेक न्यूजका कारण समाजमा भ्रम, विभाजन र अविश्वास बढिरहेको भन्दै त्यसको नियन्त्रणका लागि तथ्यजाँचलाई पत्रकारिताको महत्वपूर्ण अंगका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रेस स्वतन्त्रतासँगै जिम्मेवारी र उत्तरदायित्व पनि जोडिने भएकाले पत्रकारिताले तथ्य र सत्यलाई केन्द्रमा राख्नुपर्ने बताउनु भयो ।
उहाँले विश्वमा सूचना प्रविधिको तिब्र विकासले सञ्चार क्षेत्रमा क्रान्ति ल्याएपनि त्यससँगै चुनौती समेत बढ्दै गएको बताउनु भयो । उहाँले सुशासन कायम गर्न जिम्मेवार पत्रकारिताको भुमिका महत्वपूर्ण हुने उल्लेख गर्दै यस वर्षको राष्ट्रिय पत्रकारिता दिवसको नारा ‘सुशासनको आधारः प्रविधिमैत्री जिम्मेवार पत्रकार’ तय गरिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘लोकतन्त्रको सुदृढिकरणका लागि स्वतन्त्र, निष्पक्ष मर्यादित पत्रकारिता अपरिहार्य छ । हाम्रो संविधानले पूर्ण पैस स्वतन्त्रताको प्रत्याभुति गरेको छ । सरकारले पत्रकारितामाथि कुनैपनि प्रकारको अङ्कुश लगाउने तयारीमा छैन । तर स्वतन्त्रतासँगै जिम्मेवारी र उत्तदायित्व पनि जोडिएर आउँछ । हामी यस्तो पत्रकारिता खोजिरहेका छौँ जहाँ तथ्यले स्थान पाओस् । र सत्यले समाजलाई मार्गनिर्देश गरोस् । आजको युग डिजिटल युग हो । यस सन्दर्भमा मुलुकको सुशासनको आधार जिम्मेवार पत्रकारिता रहेको तथ्यलाई दृष्टिगत गरी यस वर्षको राष्ट्रिय पत्रकारिता दिवसको नारा ‘सुशासनको आधार प्रविधिमैत्री जिम्मेवार पत्रकार’ तय गरिएको छ । विश्वमा भएको सूचना प्रविधिको दु्रत विकासले सूचना प्रविधिको क्षेत्रमा क्रान्ती ल्याएको छ ।
तर सँगसँगै निकै धेरै चुनौती पनि थपिएका छन् । छापादेखि अनलाइनसम्मका सञ्चारमाध्यमहरुको व्यवसायिकता र दिगोपन महत्वपूर्ण छ भन्ने सरकारको ठम्याइ छ । मन्त्रालय विज्ञापन नीति २०८३ तर्जुमा गरी सञ्चार माध्यमको हितमा नीतिगत व्यवस्था गर्नेगरी अगाडि बढिरहेको छ । सामाजिक सञ्जालको दुरुपयोग र फेक न्यूजले समाजमा विभाजन ल्याउने र भ्रम फैल्याउने कार्य गरिरहेको सन्दर्भमा यसलाई न्यूनिकरण गर्न र पत्रकारिताको विश्वसनीयतालाई जोगाउन तथ्यजाँचलाई पत्रकारिताको एउटा महत्वपूर्ण अंगका रुपमा अंगाल्नुपर्ने आवश्यकता देखिएको छ ।’
उहाँले सरकारले सञ्चारमाध्यमको व्यवसायिकता र दिगोपनलाई प्राथमिकतामा राख्दै विज्ञापन नीति–२०८३ तर्जुमा गर्ने काम अगाडि बढाइरहेको बताउनु भयो । उक्त नीतिमार्फत सञ्चारमाध्यमको हित संरक्षण गर्ने गरी नीतिगत व्यवस्था गरिने उहाँको भनाइ छ ।



