


टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान र अल्जेरियाका राष्ट्रपति अब्देलमजिद तेबौनेले दुई देशबीचको आर्थिक र द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । बिहीवार टर्कीको राजधानी अंकारामा भएको उच्चस्तरीय वार्ता पश्चात दुवै नेताले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति एर्दोगानले अफ्रिकी महादेशमा अल्जेरिया टर्कीको सबैभन्दा ठूलो व्यापारिक साझेदारमध्ये एक भएको उल्लेख गर्नुभयो । सन् २०२५ मा दुई देशबीचको द्विपक्षीय व्यापार ६ अर्ब अमेरिकी डलर नाघेको जानकारी दिँदै उनले यसलाई १० अर्ब डलर पु¥याउने लक्ष्य राखिएको बताउनु भयो । एर्दोगानकाअनुसार हाल अल्जेरियामा १ हजार ६ सयभन्दा बढी टर्कीका कम्पनीहरू सञ्चालित छन् ।

उद्योग, खानी, कृषि, निर्माण, औषधि उत्पादन र पूर्वाधार लगायतका क्षेत्रमा टर्कीको लगानी ८ अर्ब डलरभन्दा बढी पुगेको उहाँले जानकारी दिनुभयो । पत्रकार सम्मेलन अघि दुवै राष्ट्रपतिले टर्की–अल्जेरिया उच्च स्तरीय रणनीतिक सहयोग परिषद्’ को पहिलो सत्रको सह–अध्यक्षता गरेका थिए । सो अवसरमा एर्दोगानले अमेरिका, इजरायल र इरानबीचको द्वन्द्वले विश्वव्यापी ऊर्जा बजारमा गम्भीर प्रभाव पारेको चर्चा गर्नुभयो । उहाँले क्षेत्रीय शान्ति र सुरक्षाका लागि खतरा पैदा गर्ने हिंसा अन्त्य गर्न टर्की र अल्जेरियाको समान धारणा रहेको समेत स्पष्ट पार्नुभयो ।

अल्जेरियाली राष्ट्रपति तेबौनेले विगत पाँच वर्षमा दुई देशबीचको सम्बन्धमा उल्लेख्य प्रगति भएको बताउनु भयो । उहाँले नवीकरणीय ऊर्जा, उद्योग, कृषि र खानी लगायतका विविध क्षेत्रमा आर्थिक सहयोगलाई थप विस्तार गर्ने अल्जेरियाको लक्ष्य रहेको उल्लेख गर्नुभयो ।
आधिकारिक भ्रमणका लागि बुधवार अंकारा पुगेका राष्ट्रपति तेबौनेको उपस्थितिमा दुई देशका कम्पनीहरूबीच ऊर्जा र कृषिसहित विभिन्न क्षेत्रमा लगानी र सहयोग सम्बन्धी सम्झौताहरूमा हस्ताक्षर समेत भएको छ ।



