


सञ्जय मिश्रा
रौतहट।
रौतहटको फतुवा विजयपुर अहिले भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बासिन्दाको आन्दोलनले तातेको छ। सागरनाथ वन विकास परियोजना ले अतिक्रमित वन क्षेत्र १५ दिनभित्र खाली गर्न चेतावनीसहित सूचना जारी गरेपछि सयौँ स्थानीय सडकमा उत्रिएका हुन्।

नगरपालिकाका विभिन्न वडाबाट आएका महिला–पुरुषहरूले हातमा तुल, ब्यानर र प्लेकार्ड बोकेर नगरपालिका कार्यालयअगाडि प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा “डोजर आतंक बन्द गर”, “लालपुर्जा देऊ”, “सुकुम्वासीमाथि अन्याय बन्द गर” जस्ता नाराले क्षेत्र नै गुञ्जिएको थियो। आन्दोलनपछि आयोजित कोणसभामा विभिन्न राजनीतिक दलका स्थानीय नेताहरूले समेत खुला समर्थन जनाएका थिए।

नेपाली काँग्रेसका युवा नेता ज्ञानेन्द्र यादव, रास्वापाका नेताहरु प्रदीप पटेल, लालबाबु पटेल तथा पूर्व उपमेयर कान्ती महतो लगायतका वक्ताहरूले तीन दशकदेखि बसोबास गर्दै आएका विपन्न परिवारलाई विस्थापित गर्ने प्रयास स्वीकार्य नहुने चेतावनी दिएका थिए। उनीहरूले “जनताको मतबाट बनेको सरकारले जनतामाथि नै डोजर चलाए प्रतिवाद झन् चर्किने” बताएका थिए।

ज्ञापनपत्र बुझाउँदै आन्दोलनको चेतावनी
आन्दोलनकारीहरूले कार्यवाहक मेयर अम्बेया खातुन लाई ज्ञापनपत्र बुझाएका थिए। ज्ञापनपत्र बुझ्दै मेयरका श्रीमान महमद सेराज ले कानुनी दायराभित्र रहेर सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।
ज्ञापनपत्रमा वडा नं १ देखि ११ सम्मका एलानी तथा सार्वजनिक जग्गामा दशकौँदेखि बसोबास गर्दै आएका नागरिकलाई व्यवस्थापन नगरी हटाउने प्रयास संविधानविपरीत रहेको उल्लेख गरिएको छ। साथै भूमि समस्या समाधान आयोग मार्फत २०८० मा संकलित आवेदन, अनलाइन इन्ट्री तथा अभिलेखीकरणको काम पूरा भइसकेकाले अब नापजाँच प्रक्रिया अघि बढाएर लालपुर्जा वितरण गर्न माग गरिएको छ।
माग सम्बोधनमा ढिलाइ भए चरणबद्ध आन्दोलन सुरु गर्ने चेतावनी समेत आन्दोलनकारीहरूले दिएका छन्।
वनबाट बजारसम्मः २०० हेक्टरको बदलिएको कथा
सागरनाथ वन विकास परियोजना अन्तर्गत पर्ने फतुवा विजयपुर–११ को करिब २०० हेक्टर क्षेत्र अहिले विवादको केन्द्रमा छ। स्थानीयका अनुसार तीन दशकअघि सम्म हराभरा वन रहेको उक्त क्षेत्र विभिन्न राजनीतिक आन्दोलन र सुरक्षा शिथिलतापछि क्रमशः फँडानी हुँदै गएको थियो।

१० वर्षे माओवादी युद्ध, मधेश आन्दोलन तथा भूमिगत गतिविधिका क्रममा वन तथा सुरक्षा संयन्त्र कमजोर बनेपछि वन क्षेत्र अतिक्रमण तीव्र भएको स्थानीयको भनाइ छ। त्यसपछि खाली जमिनमा सयौँ परिवारले घर बनाएर बसोबास गर्न थालेका थिए भने धेरैले खेतीपाती समेत गर्दै आएका छन्।
उक्त क्षेत्रमा अहिले “सहिद चौक” नामको बजार नै विकसित भइसकेको छ। दर्जनौँ पक्की घर निर्माण भइसकेका छन् भने स्थानीयका अनुसार वनकै जग्गा प्रतिकठ्ठा १५ देखि २० लाख रुपैयाँसम्म किनबेच भइरहेको छ। खेतीयोग्य जमिन २ देखि ३ लाख रुपैयाँ प्रतिकठ्ठामा कारोबार भइरहेको बताइन्छ।
फेरि बल्झियो पुरानो संघर्ष
गत वैशाख १४ गते सागरनाथ वन विकास परियोजना ले सूचना जारी गर्दै फतुवा विजयपुर–११ को २०० हेक्टर र चन्द्रपुर–२ जुडिबेला क्षेत्रको ५२ हेक्टर वन जग्गा १५ दिनभित्र खाली गर्न निर्देशन दिएको थियो।
परियोजनाका निमित्त प्रमुख चन्द्रमोहन सिंह द्वारा हस्ताक्षरित सूचनामा तोकिएको समयभित्र अतिक्रमण हटाइएन भने निर्माण गरिएका संरचना तथा बालीनाली हटाइने र त्यसबाट हुने क्षतिको जिम्मेवार सम्बन्धित व्यक्ति स्वयं हुने उल्लेख गरिएको छ।

सूचना सार्वजनिक भएसँगै स्थानीय पुनः आन्दोलनमा उत्रिएका छन्। फतुवा विजयपुरमा सुकुम्वासी बनाम वन प्रशासनको पुरानो संघर्ष फेरि राजनीतिक मुद्दाका रूपमा चर्किन थालेको छ।



