अध्ययनको निष्कर्ष: एआई डाटा सेन्टरहरू बढाए तापक्रम

 

काठमाडौँ । कृत्रिम बुद्धिमत्ता अर्थात् एआई सञ्चालन गर्ने विशाल डाटा सेन्टरहरूले अत्यधिक मात्रामा विद्युत् खपत गर्नुका साथै वरपरका क्षेत्रको तापक्रमसमेत तीव्र रूपमा बढाइरहेको नयाँ अध्ययनले देखाएको छ ।

अध्ययनअनुसार एआई डाटा सेन्टरहरूले ‘हीट आइल्यान्ड’ प्रभाव सिर्जना गरिरहेका छन्, जसका कारण आसपासका क्षेत्रको तापक्रम औसत ३.६ डिग्री फारेनहाइटसम्म बढिरहेको छ भने केही स्थानमा यो वृद्धि १६.४ डिग्री फारेनहाइटसम्म पुगेको पाइएको छ ।

अनुसन्धानकर्ताहरूले यस प्रभावबाट विश्वभर ३४ करोडभन्दा बढी मानिस प्रभावित हुन सक्ने चेतावनी दिएका छन् । क्याम्ब्रिज विश्वविद्यालयको अर्थ अब्जर्भेसन समूहका सहप्राध्यापक आन्द्रे मारिनोनी र उनको टोलीले डाटा सेन्टरबाट निस्कने तापको प्रभावबारे विस्तृत अध्ययन गरेका हुन् ।

अध्ययनका निष्कर्षले गम्भीर वातावरणीय चिन्ता बढाएको बताइएको छ । अनुसन्धानकर्ताहरूले पछिल्ला २० वर्षका तापक्रमसम्बन्धी तथ्यांकको विश्लेषण गरेका थिए । यी तथ्यांक रिमोट सेन्सरमार्फत सङ्कलन गरिएको थियो । त्यसपछि ती तथ्यांकलाई एआई हाइपरस्केलर डाटा सेन्टर रहेका स्थानसँग तुलना गरिएको थियो ।

हाइपरस्केलर डाटा सेन्टर भनेका हजारौँ सर्भर जडान गरिएका विशाल केन्द्र हुन्, जसको आकार १० लाख वर्गफुटसम्म हुन सक्छ । अध्ययनमा विश्वभर रहेका ६ हजारभन्दा बढी यस्ता डाटा सेन्टर समावेश गरिएको थियो । ती केन्द्रहरू अत्यधिक जनघनत्व भएका सहरभन्दा टाढा राखिएका थिए, ताकि उद्योग, घरको ताप प्रणाली वा अन्य सहरी गतिविधिबाट उत्पन्न ताप प्रभावलाई अलग गरेर अध्ययन गर्न सकियोस् ।

अध्ययनअनुसार कुनै डाटा सेन्टर सञ्चालनमा आएपछि आसपासको सतही तापक्रम औसत ३.६ डिग्री फारेनहाइटले बढेको पाइएको छ । केही स्थानमा यो वृद्धि १६.४ डिग्री फारेनहाइटसम्म पुगेको अनुसन्धानकर्ताहरूले बताएका छन् । उनीहरूका अनुसार यस्तो प्रभाव विश्वका विभिन्न भागमा समान रूपमा देखिएको छ । उदाहरणका लागि मेक्सिकोको बाजियो क्षेत्रमा दुई दशकमा करिब ३.६ डिग्री फारेनहाइट तापक्रम वृद्धि भएको पाइएको छ, जसलाई अन्य कारणले व्याख्या गर्न नसकिने अध्ययनले जनाएको छ । त्यस्तै स्पेनको आरागोन क्षेत्रमा पनि यस्तै अवस्था देखिएको छ । यो क्षेत्र युरोपमा हाइपरस्केल एआई डाटा सेन्टरको प्रमुख केन्द्र मानिन्छ । त्यहाँ तापक्रम ३.६ डिग्री फारेनहाइटले बढेको देखिएको छ, जबकि छिमेकी क्षेत्रमा यस्तो प्रवृत्ति भेटिएको छैन । अध्ययनअनुसार तापक्रम वृद्धिको असर डाटा सेन्टरबाट १० किलोमिटरसम्मको क्षेत्रमा देखिएको छ ।

विशेषज्ञहरूले यसलाई गम्भीर चेतावनीका रूपमा लिएका छन् । लन्डन साउथ बैंक युनिभर्सिटीकी प्राध्यापक डेबोराह आन्द्रेवसले डाटा सेन्टरको प्रभावबारे पहिलेदेखि नै चिन्ता रहे पनि तिनले उत्पादन गर्ने तापमा केन्द्रित यो पहिलो अध्ययन भएको बताएकी छन् ।

उनले एआई उद्योगको तीव्र विस्तारको दौडमा दीर्घकालीन तथा दिगो वातावरणीय सोचलाई बेवास्ता गरिएको टिप्पणी गरिन् । त्यस्तै बोर्डरस्टेप इन्स्टिच्युट फर इनोभेसन एंड सस्टेनेबिलिटीका वरिष्ठ अनुसन्धानकर्ता राल्फ हिनटेमानले अध्ययनले गम्भीर र चिन्ताजनक तथ्यांक प्रस्तुत गरेको बताए । उनका अनुसार डाटा सेन्टर सञ्चालनका लागि आवश्यक विद्युत् उत्पादनबाट हुने उत्सर्जन पनि ठूलो समस्या बनेको छ ।

अध्ययनका प्रमुख अनुसन्धानकर्ता मारिनोनीले एआईको वातावरणीय प्रभाव कम गर्ने विषयमा व्यापक बहस सुरु गर्न यो अध्ययनले मद्दत गर्ने विश्वास व्यक्त गरेका छन् । उनका अनुसार अहिले पनि यस्तो बाटो रोज्न सकिने अवस्था छ, जसबाट एआईको विकास र मानव जीवनमा यसको उपयोगिता कायम राख्दै वातावरणमा पर्ने नकारात्मक असर कम गर्न सकिन्छ ।

 

Nepal life insuranceimagesimagesimages