


मलेसियाको सेवा क्षेत्रमा सन् २०२६ को पहिलो त्रैमासिकमा वार्षिक रूपमा ८.१ प्रतिशतको वृद्धि देखिएको छ । सोमवार सार्वजनिक गरिएको आधिकारिक तथ्यांकअनुसार, यस अवधिमा सेवा क्षेत्रको कुल राजश्व ६८२ अर्ब रिंगिट (करिव १७३.६५ अर्ब अमेरिकी डलर) पुगेको छ ।

लचिलो उपभोक्ता खर्च, पर्यटन गतिविधिमा आएको तिब्रता र डिजिटल प्रविधिको बढ्दो प्रयोगले यस वृद्धिलाई प्रमुख रूपमा सहयोग पु¥याएको छ । मलेसियाको तथ्यांक विभाग (डीओएसएम) ले एक विज्ञप्ति जारी गर्दै लुनार नयाँ वर्ष र इद–उल–फित्र जस्ता प्रमुख चाडपर्वहरूका कारण आन्तरिक आर्थिक गतिविधि सुदृढ रहँदा सबै क्षेत्रहरूमा व्यापक सुधार देखिएको जनाएको छ ।
देशभित्रको बढ्दो गतिशीलता, सक्रिय पर्यटन गतिविधि र राष्ट्रव्यापी कार्यक्रमहरूले सेवा क्षेत्रको विस्तारमा थप बल पु¥याएका छन् ।


साथै, इ–कमर्स र प्रविधिमा आधारित सेवाहरूको निरन्तर विस्तारले डिजिटल गतिविधिहरूको वृद्धिलाई समेत सुनिश्चित गरेको छ । क्षेत्रगत रूपमा हेर्दा, थोक तथा खुद्रा व्यापार, खाद्य तथा पेय पदार्थ र आवास क्षेत्रले ७.७ प्रतिशतको उच्च वृद्धि दर्ता गरेका छन् । यी क्षेत्रहरूको कुल राजस्व ५१२.३ अर्ब रिंगिट पुगेको छ, जसमा घरायसी खर्च र चाडपर्वसँग सम्बन्धित मागको मुख्य भूमिका रहेको छ ।
त्यस्तै, सूचना तथा सञ्चारका साथै यातायात र भण्डारण क्षेत्र ९.५ प्रतिशतले बढेर ९७.३ अर्ब रिंगिट पुगेको छ । डिजिटल कनेक्टिभिटी, लजिस्टिक र यातायात सेवाको निरन्तर मागले यस क्षेत्रको विकासमा मद्दत पु¥याएको तथ्यांकले देखाएको छ ।



