


अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नं. ३ मा सामाजिक न्याय र महिला सशक्तिकरणका विषयमा सरोकारवालासँग छलफल कार्यक्रम सम्पन्न भएको छ । सामाजिक न्यायकालागी रुपान्तरण अभियान अन्तर्गत “हाम्रो साहस परियोजना” मार्फत दलित महिला संघ र UN Women को सहकार्यमा दलित चेतना विकास परिषद् नेपाल, अर्घाखाँचीले कार्यक्रम आयोजना गरेको हो ।

ग्रामीण तथा पछाडि पारिएका समुदायमा सामाजिक न्याय, समान अवसर र सशक्तिकरणको पहुँच विस्तार गर्ने उद्देश्यले आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समुदायका अगुवा, महिला तथा विभिन्न सरोकारवाला निकायको सहभागिता रहेको थियो ।

कार्यक्रममा संस्थाकी प्रतिनिधि राधा नेपालीले दलित महिला संघले महिलावादी अभियान, समावेशी सशक्तिकरण तथा जातीय, लैङ्गिक एवं अपाङ्गता भएका व्यक्तिहरूको अधिकारका क्षेत्रमा निरन्तर काम गर्दै आएको बताउनुभयो । उहाँले संस्थाले समुदायसँग सहकार्य गर्दै महिला सशक्तिकरण, सामाजिक न्याय र दिगो विकासका लागि विभिन्न परियोजनाहरू सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार “हाम्रो साहस परियोजना” अन्तर्गत सामाजिक हानिकारक मूल्यमान्यता न्यूनीकरण तथा लैङ्गिक समानताका लागि सामाजिक व्यवहार परिवर्तन सम्बन्धी कार्यक्रम सञ्चालन भइरहेको छ । परियोजनाको मुख्य लक्षित वर्गमा महिला, दलित समुदाय र युवाहरू रहेका छन् । यस अभियानमार्फत सामाजिक कुरीति न्यूनीकरण, लैङ्गिक हिंसा नियन्त्रण तथा संस्थागत क्षमता अभिवृद्धिमा विशेष जोड दिइएको छ ।

राधा नेपालीले परम्परागत सोच र विभेदपूर्ण व्यवहार परिवर्तन गर्न यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताउँदै न्यायबाट टाढा रहेका, हिंसा तथा अन्यायमा परेका र आर्थिक रूपमा कमजोर महिलाहरूलाई जीविकोपार्जनसँग जोड्न सबै पक्षको सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले महिलाको आत्मबल अभिवृद्धि, अधिकारको पुनःस्थापना तथा आर्थिक सशक्तिकरणमार्फत समाज परिवर्तन सम्भव हुने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा वडा सदस्य हुम बहादुर विक, पवित्रा पौडेल, वडा सचिव देबराज श्रेष्ठ लगायतले मन्तव्य राख्दै सामाजिक न्याय, लैङ्गिक समानता र महिला सशक्तिकरणका लागि सामूहिक सहकार्य आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रमको सहजीकरण पत्रकार अनिल नेपालीले गर्नुभएको थियो ।
#दलितमहिलासशक्तिकरण #सामाजिकन्याय #भूमिकास्थान #अर्घाखाँची #महिलाअधिकार #UNWomen #HamroSahas #GenderEquality #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD



