सन् २०२६ को पहिलो चार महिनामा हङकङ एक्सप्रेस रेल लिङ्क प्रयोग गर्ने यात्रुको सङ्ख्यामा वृद्धि

 

ग्वान्झाउ–सेन्जेन–हङकङ एक्सप्रेस रेल लिङ्कको हङकङ खण्डमा सन् २०२६ को शुरुवाती चार महिनामा यात्रुहरूको चापमा निरन्तर वृद्धि देखिएको छ । एमटीआर कर्पोरेसन लिमिटेडले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस वर्षको अप्रिल महिनासम्म दैनिक औसत ९० हजारभन्दा बढी यात्रुहरूले उक्त सेवा प्रयोग गरेका छन्, जुन सन् २०२५ को दैनिक औसत ८० हजारको तुलनामा उल्लेख्य वृद्धि हो । विशेष गरी सप्ताहन्त र सार्वजनिक बिदाका दिनहरूमा यात्रुको सङ्ख्या तिब्र रूपमा बढ्ने गरेको छ ।

तथ्याङ्कअनुसार बिदाका दिनहरूमा दैनिक १ लाखभन्दा बढी यात्रुहरूले रेल यात्रा गर्ने गरेका छन् । सन् २०२६ मा मात्रै यस रेल सेवाले दुई पटक एकै दिनमा सबैभन्दा बढी यात्रु यात्रा गर्ने नयाँ कीर्तिमान कायम गरेको छ । गत फेब्रुअरी १९ (चिनियाँ नयाँ वर्षको तेस्रो दिन) मा १ लाख ४५ हजार ८०० र अप्रिल ४ (इस्टर तथा छिङमिङ पर्वको बिदा) मा १ लाख ४८ हजार ७०० यात्रुले यात्रा गरेका थिए ।

हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारकी यातायात तथा रसद सचिव माबेल च्यानले बुधवार व्यवस्थापिका परिषद्लाई सम्बोधन गर्दै एमटीआर कर्पोरेसनले हङकङ वेस्ट कोव्लुन स्टेशनको सुविधाहरूको निरन्तर समीक्षा र स्तरोन्नति गरिरहेको जानकारी दिनुभयो ।

सचिव च्यानकाअनुसार को–लोकेशन एरेन्जमेन्ट ढाँचा अन्तर्गत स्टेशनभित्रका पसलहरूको सञ्चालन तथा अन्य सहयोगी प्रबन्धहरूलाई थप सुदृढ बनाउन सरकारले एमटीआर कर्पोरेसन र मुख्य भूमि चीनका सम्बन्धित अधिकारीहरूसँग सक्रिय छलफल गरिरहेको छ । सन् २०१८ सेप्टेम्बर २३ बाट सञ्चालनमा आएको हङकङ खण्डले हाल ५० हजार किलोमिटरभन्दा बढी क्षेत्रमा फैलिएको चीनको राष्ट्रिय उच्च गतिको रेल सञ्जाललाई जोड्दछ । सेवा प्रारम्भ हुँदा हङकङ वेस्ट कोव्लुन स्टेशनबाट मुख्य भूमि चीनका ४४ गन्तव्यहरूमा प्रत्यक्ष पहुँच रहेकोमा सन् २०२६ को जनवरीदेखि उक्त सङ्ख्या विस्तार भएर ११० पुगेको छ ।

विवरणअनुसार सन् २०२५ मा मात्रै यस रेल खण्डबाट ३ करोडभन्दा बढी यात्रुले यात्रा गरेका थिए भने सेवा शुरु भएदेखि हालसम्म कुल १० करोडभन्दा बढी यात्रुहरूले यसको प्रयोग गरिसकेका छन् ।

 

Nepal life insuranceimagesimagesimages