


बुधवार आयोजित नयाँ सरकारको पहिलो पत्रकार सम्मेलनमा प्रधानमन्त्री पिटर माग्यारले देशको इन्धन र कच्चा तेलको आपूर्ति निर्वाध रहेको जानकारी दिनुभएको छ । उहाँले हंगेरीको रणनीतिक इन्धन भण्डार हाल झण्डै ८० प्रतिशत क्षमतामा रहेको स्पष्ट पार्नुभयो । हंगेरीको बहुराष्ट्रिय तेल र ग्यास कम्पनी एमओएल ग्रुपका अध्यक्ष जोल्ट हर्नाडीबाट प्राप्त ब्रिफिङ उद्धृत गर्दै प्रधानमन्त्री माग्यारले विश्व बजारमा मूल्य वृद्धि भएपनि आपूर्तिमा स्थिरता कायम रहेको बताउनु भयो । उहाँले हंगेरी सरकारले अवलम्बन गर्दै आएको संरक्षित इन्धन मूल्य नीतिलाई निरन्तरता दिने घोषणा समेत गर्नुभयो ।

परराष्ट्र नीतिका सम्बन्धमा बोल्दै प्रधानमन्त्री माग्यारले आगामी हप्ता पोल्याण्ड र अस्ट्रियाको औपचारिक भ्रमण गर्ने जानकारी दिनुभयो । पदभार ग्रहण गरेपछिको यो उहाँको पहिलो प्रमुख वैदेशिक भ्रमण हुनेछ । भ्रमणका क्रममा उहाँले वार्सामा पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्क र अन्य उच्च अधिकारीहरूसँग वार्ता गर्ने र त्यसपछि भिएना पुगेर अस्ट्रियाली नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री माग्यारले हंगेरी, पोल्याण्ड, स्लोभाकिया र चेक गणतन्त्र सम्मिलित भिसेग्राद समूहबीचको सहकार्यलाई पुनः सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले मध्य युरोपेली देशहरू छुट्टिनुभन्दा एकजुट हुँदा बढी शक्तिशाली हुने धारणा राख्नुभयो ।

युरोपेली संघ (ईयू) सँगको सम्बन्ध र रोकिएको कोष फुकुवा गर्ने विषयमा संघका नेताहरूसँग निरन्तर संवाद भइरहेको उहाँले जानकारी दिनुभयो । यसै सिलसिलामा मे २५ को हप्ताका लागि तय गरिएको ब्रसेल्स भ्रमणअघि वार्तालाई अगाडि बढाउन अर्को हप्ता युरोपेली आयोगको एक उच्चस्तरीय प्रतिनिधिमण्डलले हंगेरीको भ्रमण गर्ने अपेक्षा गरिएको छ ।
गत शनिवार प्रधानमन्त्रीको शपथ लिएका माग्यार नेतृत्वको नयाँ मन्त्रिमण्डलले मंगलवार मात्रै संसदमा शपथ ग्रहण गरेको थियो । उहाँले ईयू र नाटोमा हंगेरीको राष्ट्रिय हितको रक्षा गर्दै पश्चिमा मित्रराष्ट्रहरूसँगको सम्बन्धलाई थप मजबुत बनाउने अठोट व्यक्त गर्नुभयो ।



