


काठमाडौं। कलाकार सविन श्रेष्ठ र अनु शाहले चलचित्रकर्मीहरूको अन्तिम श्रद्धाञ्जली अर्पण गर्न आवश्यक सामग्री (कर्रा) पशुपति विकास क्षेत्र कोषलाई हस्तान्तरण गरेका छन्।
कलाकारद्वयले पशुपति विकास क्षेत्र कोषका अधिकृत सुर्य भाटलाई पाशुपत क्षेत्रमै उक्त सामग्री हस्तान्तरण गरेका हुन्। महिलाहरूलाई स्यानिटरी प्याड वितरण, अपाङ्ग बालबालिकालाई आर्थिक तथा जिन्सी सहयोग लगायत विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आएका सविनले आफ्नै खर्चमा चलचित्रकर्मीहरूको अन्तिम यात्रामा सम्मानजनक र व्यवस्थित ढंगले श्रद्धाञ्जली अर्पण गर्न सहयोग पुग्ने उद्देश्यले उक्त सामग्री हस्तान्तरण गरेका हुन्।

हस्तान्तरणपछि श्रेष्ठले चलचित्रकर्मीहरूको निधन हुँदा श्रद्धाञ्जली अर्पण गर्न कहिले कुर्सी, कहिले अन्य सामग्री खोज्नुपर्ने तितो यथार्थले आफूलाई दुःखी बनाउने गरेको बताए। सोही अनुभूतिपछि आफू यस कार्यमा अग्रसर भएको उनले उल्लेख गरे। उनले यो सामग्री चलचित्रकर्मी, पत्रकार लगायत आवश्यक परेका अन्य व्यक्तिहरूले समेत प्रयोग गर्न सक्ने जानकारी दिए।

जन्म र मृत्यु अन्तिम सत्य रहेको उल्लेख गर्दै अभिनेत्री अनु शाहले चलचित्र क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरूको अन्तिम श्रद्धाञ्जलीका लागि आवश्यक व्यवस्थापन हुने यस सामाजिक कार्यमा आफू जोडिन पाउँदा खुशी लागेको बताइन्।
पशुपति विकास क्षेत्र कोषका अधिकृत सुर्य भाटले कलाकार सविन श्रेष्ठबाट भएको यस सामाजिक कार्यले पशुपतिमा अन्तिम संस्कार हुने चलचित्रकर्मीहरूको बिदाइ व्यवस्थापनमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे। प्राप्त सहयोगप्रति धन्यवाद व्यक्त गर्दै यस्ता सामाजिक तथा मानवीय कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताएका छन्।
सविन श्रेष्ठले सुदीप पन्त र नरेश कुँवरको सहयोगमा उक्त सामग्री तयार पारिएको जानकारी दिए। साथै, पशुपतिमा यसको व्यवस्थापन तथा सहजीकरणका लागि प्रोडक्सन म्यानेजर रामहरी डंगोल (९८४१२६४३७१) लाई जिम्मेवारी दिइएको बताइएको छ।



