


अनिल नेपाली, अर्घाखाँची डटकम।
अर्घाखाँची । महिलाहरू परापूर्वकालदेखि पितृसत्तात्मक सोचका कारण राजनीतिक तथा सामाजिक क्षेत्रमा समान सहभागिताबाट वञ्चित हुँदै आएको भन्दै अब महिलालाई निर्णय तहसम्म पुर्याउन राज्य, समाज र राजनीतिक दलको सोच परिवर्तन आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् ।

‘हाम्रो साहस परियोजना’ अन्तर्गत दलित महिला संघ र युएन वुमनको सहकार्यमा दलित चेतना विकास परिषद् नेपाल, अर्घाखाँचीले सन्धिखर्कमा आयोजना गरेको महिलाको राजनीतिक सहभागिता र नेतृत्व सम्बन्धी नीतिगत वकालत विषयक छलफल कार्यक्रममा बोल्दै वक्ताहरूले महिलालाई सहभागितामा मात्र सीमित नराखी नेतृत्वदायी भूमिकामा स्थापित गर्नुपर्नेमा जोड दिएका हुन् ।
कार्यक्रममा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी महिला नेतृ सरिता भुसाल ले महिलाको नेतृत्व विकासका विषयमा राजनीतिक दलहरूले प्रतिबद्धता जनाए पनि व्यवहारमा अझै कमजोरी देखिएको बताउनुभयो । उहाँले महिलालाई निर्णयको तहसम्म पुर्याउन दल, राज्य र समाजको सोच एकसाथ परिवर्तन हुनुपर्ने धारणा राख्नुभयो ।

महिला नेतृ रिता मरासिनी ले नेतृत्व तहमा पुगेका महिलाले मात्रै आफ्ना वास्तविक समस्या र आवश्यकतालाई प्रभावकारी रूपमा उठान गर्न सक्ने बताउँदै पितृसत्तात्मक सोच, सामाजिक विभेद, आर्थिक परनिर्भरता र पार्टीभित्रकै संरचनागत अवरोधका कारण महिलाहरू नेतृत्वमा पुग्न नसकेको उल्लेख गर्नुभयो ।

नेकपा एमालेकी महिला नेतृ आशा परियार ले महिलाले आफैँ पनि राजनीतिक रूपमा सक्रिय र संगठित हुन आवश्यक रहेको बताउनुभयो । उहाँले नेतृत्व आफैँ नआउने भएकाले महिलाले अधिकारका लागि आवाज उठाउँदै चुनौती स्वीकार गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

राष्ट्रिय जनमोर्चाकी नेतृ कल्पना अधिकारी ले समाज रूपान्तरण र परिवर्तनका लागि महिला जागरूक हुनुपर्ने दलहरूले बताउने गरे पनि व्यवहारमा राजनीतिक दलहरू त्यति सक्रिय नरहेको बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका नगर सभापति तुल्सिराम पौडेल ले महिला नेतृत्वबिना दिगो विकास र सामाजिक न्याय सम्भव नभएको उल्लेख गर्दै राजनीतिक दलहरू महिला नेतृत्व विकासमा गम्भीर हुनुपर्ने बताउनुभयो । उहाँले आफ्नो पार्टी महिलाका मुद्दामा सधैं प्रतिबद्ध रहेको दाबी गर्नुभयो ।

राष्ट्रिय जनमोर्चाका नगर अध्यक्ष गोविन्द बिसी ले महिलालाई नीति निर्माण तहमा पुर्याउन शिक्षा, राजनीतिक प्रशिक्षण र अवसर आवश्यक रहेको बताउनुभयो । “महिलालाई सक्षम बनाउने कुरा भाषणमा मात्र सीमित हुनु हुँदैन,” उहाँले भन्नुभयो ।

कार्यक्रममा दलित अधिकारकर्मी विष्णु परियार, सन्जय नेपाली, इन्सेक प्रतिनिधि कुल बी नेपाली तथा नेपाल पत्रकार महासंघका प्रदेश कोषाध्यक्ष प्रेमनारायण आचार्य लगायतले मन्तव्य राख्दै महिलाको सहभागिता र नेतृत्व अहिलेको आवश्यकता भएको बताएका थिए ।

कार्यक्रममा संस्थाकी समन्वयकर्ता तथा कार्यवाहक अध्यक्ष राधा नेपाली ले ‘हाम्रो साहस परियोजना’ अन्तर्गत सामाजिक हानिकारक मूल्यमान्यता न्यूनीकरण एवं लैङ्गिक समानताका लागि सामाजिक व्यवहार परिवर्तनसम्बन्धी कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार परियोजनाको मुख्य लक्षित वर्ग महिला, दलित समुदाय र युवा रहेका छन् ।

उहाँले सामाजिक कुरीति न्यूनीकरण, संस्थागत क्षमता अभिवृद्धि तथा लैङ्गिक हिंसा न्यूनीकरणमार्फत महिला तथा पछाडि पारिएका समुदायलाई सशक्त बनाउने उद्देश्य रहेको बताउनुभयो । परम्परागत सोच र व्यवहार परिवर्तनका लागि यस्ता कार्यक्रम महत्वपूर्ण हुने उल्लेख गर्दै आर्थिक रूपमा कमजोर तथा हिंसामा परेका महिलाहरूलाई जीविकोपार्जनसँग जोड्न सबैको सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो ।

कार्यक्रम संस्थाकी कार्यवाहक अध्यक्ष राधा नेपालीको अध्यक्षता तथा पत्रकार अनिल नेपाली को सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
तस्बिर:










