


इजरायल र लेबनान गत महिनादेखि लागू भएको युद्धविरामलाई थप ४५ दिन लम्ब्याउन सहमत भएका छन् । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले शुक्रवार यस सहमतिबारे जानकारी दिनुभएको हो ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टमी पिगोटले सामाजिक सञ्जाल एक्समार्फत अप्रिल १६ देखि शुरु भएको शत्रुताको अन्त्यलाई थप ४५ दिनका लागि विस्तार गरिएको बताउनु भयो । वार्तामा थप प्रगति हासिल गर्नका लागि यो समय थपिएको उहाँले उल्लेख गर्नुभयो । सहमतिअनुसार आगामी जुन २ र ३ तारिखमा अमेरिकी विदेश मन्त्रालयमा दुई देशबीच राजनीतिक वार्ता हुनेछ ।

त्यसअघि मे २९ मा दुवै देशका सैन्य प्रतिनिधिहरूबीच पेन्टागनमा सुरक्षा केन्द्रित वार्ता हुने पिगोटले जानकारी दिनुभयो । यसअघि बिहीवार र शुक्रवार भएको तेस्रो चरणको प्रत्यक्ष वार्ता अत्यन्त उत्पादक रहेको अमेरिकी पक्षको दाबी छ । युद्धविरामको समयावधि थपिएपनि दक्षिणी लेबनानमा इजरायल र सशस्त्र समूह हिजबुल्लाहबीचको भिडन्त भने रोकिएको छैन ।


लेबनानी राष्ट्रिय समाचार एजेन्सीकाअनुसार शुक्रबार दक्षिणी लेबनानमा भएका इजरायली आक्रमणमा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । यता, हिजबुल्लाहले पनि दक्षिणी लेबनानका विभिन्न क्षेत्रमा इजरायली ड्रोन, सैनिक, सैन्य बुलडोजर र मेर्काभा ट्याङ्कलाई लक्षित गरी आक्रमण गरेको जनाएको छ ।
लेबनानको सार्वजनिक स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रले सार्वजनिक गरेको तथ्याङ्क अनुसार मार्च २ देखि मे १५ सम्मको अवधिमा इजरायली आक्रमणका कारण लेबनानमा २,९५१ जनाको मृत्यु भएको छ भने ८,९८८ जना घाइते भएका छन् ।



