नागरिकको अधिकार र आत्मसम्मानको विषयमा काँग्रेसले कुनै सम्झौता गर्दैनः गगन थापा

 

नेपाली काँग्रेसका सभापति गगन थापाले नागरिकको आत्मसम्मान र मौलिक अधिकारको सन्दर्भमा कसैसँग कुनै सम्झौता नगर्ने बताउनुभएको छ । प्रजातान्त्रिक विचार समाज, नेपालको साधारणसभामा बोल्दै उहाँले संविधानले प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार दिएको स्मरण गराउँदै नागरिक अधिकारको सवालमा कांग्रेस सधैं स्पष्ट रूपमा उभिने बताउनु भयो । सरकारले नागरिक अधिकारलाई कुण्ठित गरेर सुकुम्बासी बस्तीमा डोजर चलाएको उहाँको आरोप छ ।

उहाँले नेता वा सरकार संविधानभन्दा माथी नहुने बताउनु भयो । सुशासनका नाममा नागरिक अधिकारलाई कमजोर पार्ने अभ्यास स्वीकार्य नहुने उहाँको भनाई छ । सरकार पनिसंवैधानिक सीमाभन्दा माथि जान नसक्ने उल्लेख गर्दै उहाँले लोकतन्त्रबाट परिणामसँगै नागरिक अधिकारको सुरक्षा सुनिश्चित हुनुपर्ने बताउनु भयो । कानूनी परिधिभित्र रहेर गरिने सुशासन, शिक्षा, स्वास्थ्य, रोजगारी र कृषि क्षेत्रका सकारात्मक काममा भने काँग्रेसको पूर्ण समर्थन रहने उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी सुशासनको सम्बन्धमा, शिक्षा, स्वास्थ्य, रोगजारी, कृषि लगायतका विषयमा हिजो गर्न नसकेका तथा चुकेका कुराहरु आजको नयाँ सरकारले गर्देगर्दाखेरी थपडी बजाएर समर्थन गर्ने हो । यी कुराहरु चाहिएको हो त । कतिपय हिजो हामीले सुरुवात गरेका कुराहरु होलान् । तर यो नागरिकका अधिकारहरुको मुलतबीमा राखेर हो ? हामीले खोजेको शासन मोडल वा संरचना यस्तो होईन नी त । यो बाटोबाट हुँदैन भन्ने हाम्रो विश्वास हो नी । कुनैपनि संस्था भन्दा ठुलो नेता हुँदैन । कुनैपनि सरकार आलोचना भन्दा माथी हुँदैन । जतिसुकै बहुमत प्राप्त गरेपनि संवैधानिक परिधिभन्दा माथी त्यो हुँदैन ।

डेमोक्रेसीबाट हामीलाई परिणाम चाहिएको छ । सुशासन ठिक ढंगले हुनुपर्नेछ । संगै नागरिकका अधिकारको सुरक्षा पनि होला नी त । सुकुम्बासी बस्तीमा डोजर चलाएको सन्र्दभमा मैले बुझेको यही हो । हामीले संविधान लेख्नेबेलामा मौलिक हकमा एक नम्बरमा आत्मसम्मान बाँच्न पाउने । त्यो मेरो मतदाता हो की होईन, मलाई थाहा छैन, मतलब पनि छैन, नेपाली काँग्रेसलाई मतलब हुनु पनि हुँदैन । कहिल्यै उहाँहरुले काँग्रेसलाई मत नहाल्न पनि पाउनुहुन्छ । तर नागरिकको अधिकारको कुरामा पार्टी ठिक ठाउँमा उभिनुपर्छ । जब नागरिकको अधिकारको कुरा आउँछ, नागरिकको आत्मसम्मानको कुरा आउँछ, यो विषयमा काँग्रेसले कुनै कम्प्रमाईज गर्दैन । सुशासनको सन्र्दभमा कानुनको परिधिभित्र बसेर गरिने प्रयासमा काँग्रेसको शतप्रतिशत साथ रहन्छ ।’ 

उहाँले लोकतन्त्र, संविधान र नागरिक अधिकारको रक्षाको लागी काँग्रेसले सडक र सदनबाट सधै सर्षघ गरिरहने बताउनु भयो । हाल लोकतन्त्रको लागि आन्दोलन गर्नेहरुलाई अपराधीकरण गर्न खोजिएको उहाँको आरोप छ ।

 

Nepal life insuranceimagesimagesimages