


तिब्र शहरीकरणका चुनौती र दिगो शहरी विकासका विविध पक्षमा छलफल गर्न आईतवारदेखि अजरबैजानको बाकुमा ‘विश्व शहरी मञ्च’ (डब्लुयूएफ १३) को १३ औँ सत्र शुरु भएको छ । यस कार्यक्रममा विश्वभरका नेता, नीति निर्माता र शहरी विकास विज्ञहरूको सहभागिता रहेको छ ।

मे २२ सम्म चल्ने यस मञ्चमा किफायती तथा उत्थानशील आवास, जलवायु अनुकूलन, पूर्वाधार विकास र समावेशी सहरी वृद्धि जस्ता विषयमा केन्द्रित रहेर छलफल हुनेछ । मञ्चले सहभागी राष्ट्रहरूलाई शहरी विकासका अनुभव र नवीन समाधानहरू आदानप्रदान गर्ने साझा थलो उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

संयुक्त राष्ट्रसङ्घीय मानव बसोबास कार्यक्रम (यूएन–ह्याबिट्याट) र अजरबैजान सरकारको संयुक्त आयोजनामा सञ्चालित यस वर्षको संस्करणमा पहिलोपटक ‘लिडर समिट’ (शिर्ष नेतृत्व बैठक) को समेत शुरुवात गरिएको छ । अजरबैजान सरकारको पहलमा आयोजना गरिएको यस शिखर बैठकमा विभिन्न देशका राष्ट्रप्रमुख, सरकार प्रमुख र उच्च अधिकारीहरूले शहरहरूको भविष्यका लागि रणनीतिक प्राथमिकता र अन्तर्राष्ट्रिय सहयोग सुदृढीकरणका विषयमा संवाद गर्नेछन् ।

डब्लुयूएफ १३ का राष्ट्रिय संयोजक अनर गुलियेभले आवास र शहरी विकासका मुद्दाहरू अब प्राविधिक विषयमा मात्र सि मित नरही उच्च स्तरीय नेतृत्व आवश्यक पर्ने विश्वव्यापी रणनीतिक महत्त्वको विषय बनेको उल्लेख गर्नुभयो । मञ्चको उद्घाटनका अवसरमा अजरबैजानको अध्यक्षतामा ‘नयाँ सहरी एजेण्डा’ (न्यू अर्बन एजेन्डा) सम्बन्धी मन्त्रीस्तरीय बैठक समेत सम्पन्न भएको छ ।
उक्त एजेन्डा कार्यान्वयनको २० वर्षे अवधिको मध्यविन्दुमा आयोजित सो बैठकले हालसम्मको प्रगतिको समीक्षा गर्दै आगामी चरणका चुनौती र प्राथमिकताका बारेमा छलफल गरेको थियो । दिगो शहरीकरणका विषयमा उच्चस्तरीय संवाद गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घद्वारा सन् २००१ मा स्थापित यस मञ्चको पहिलो सत्र सन् २००२ मा केन्याको नैरोबीमा आयोजना गरिएको थियो ।



