

काठमाडौँ । आर्सनलले २२ वर्षपछि पहिलोपटक इङ्ग्लिस प्रिमियर लिगको उपाधि जितेको छ । गएराती म्यानचेस्टर सिटी बर्नमाउथसँग १-१ गोलको बराबरीमा रोकिएसँगै आर्सनलले एक खेल अघि नै प्रिमियर लिगको उपाधि जितेको हो ।
अघिल्ला आठ सिजनमध्ये छ पटक उपाधि जितेको म्यानचेस्टर सिटीलाई उपाधि दौड अन्तिम खेलसम्म पुर्याउन जित अनिवार्य थियो । तर बर्नमाउथसँग १–१ को बराबरीमा रोकिएपछि पेप ग्वार्डिओलाको टोली उपाधि रक्षा गर्न असफल भयो ।

यो आर्सनलको इतिहासमा १४औँ प्रिमियर लिग उपाधि हो । सर्वाधिक २०–२० पटक उपाधि जितेका लिभरपुल र म्यानचेस्टर युनाइटेडपछि आर्सनल तेस्रो स्थानमा छ । यसअघि आर्सनलले सन् २००३–०४ मा अन्तिमपटक उपाधि जितेको थियो । त्यस सिजन प्रशिक्षक आर्सेन भेङ्गरको नेतृत्वमा टोली अपराजित रहँदै च्याम्पियन बनेको थियो ।
मिकेल आर्टेटाको टोली यस सिजन युरोपेली च्याम्पियन्स लिगको फाइनलमा समेत पुगेको छ । मे ३० मा हुने फाइनलमा आर्सनलले पिएसजीसँग खेल्नेछ । आर्सनल पहिलोपटक युरोपेली च्याम्पियन बन्ने लक्ष्यमा रहेको छ ।
सन् २०१९ मा प्रशिक्षक बनेका आर्टेटा प्रिमियर लिग खेलेका पूर्व खेलाडीमध्ये प्रशिक्षकका रूपमा उपाधि जित्ने पहिलो व्यक्ति बनेका छन् । लगातार तीन सिजन उपविजेतामै सीमित भएपछि यसपटक भने उनले टोलीलाई सफलतामा पुर्याएका हुन् ।

सन् २०२३ र २०२४ मा आर्सनलले अग्रता लिए पनि अन्तिम समयमा म्यानचेस्टर सिटीले उपाधि खोसेको थियो । गत वर्ष लिभरपुलपछि दोस्रो स्थानमा सीमित बनेको आर्सनलले यसपटक भने लामो प्रतीक्षा अन्त्य गरेको हो ।
आर्सनलको सफलताको मुख्य आधार बलियो रक्षापङ्क्ति र निश्चित अवस्थाबाट गरिएको प्रभावकारी प्रदर्शन रह्यो । टोलीले ३७ खेलमा लिगकै कम २६ गोल मात्र व्यहोरेको छ भने १९ खेलमा गोल खानबाट जोगिएको छ ।
सन् २०१७ पछि पहिलोपटक म्यानचेस्टर सिटी वा लिभरपुल बाहेकको टोली च्याम्पियन बनेको हो । खेलपछि ग्वार्डिओलाले आर्सनललाई बधाई दिएका छन् । उनले प्रशिक्षक मिकेल आर्टेटा, टोलीका खेलाडी, प्रशिक्षक समूह र समर्थकलाई उपाधिको शुभकामना दिँदै आर्सनल उपाधिको योग्य टोली रहेको बताएका छन् ।



