गर्मीबाट बच्न विद्यालयका छतमा रिफ्लेक्टिभ पेन्ट-विद्यालय उत्थानशीलता कार्यक्रममा स्थानीय सरकारको चासो

 

 

जलवायु परिवर्तनका कारण हरेक वर्ष तापक्रम बढ्ने र त्यसको असर पठनपाठनमा पर्न थालेपछि लुम्बिनी र सुदुरप्रदेशका केही विद्यालयमा रिफ्लेक्टिभ पेन्टको अभ्यास शुरु गरिएको छ ।
कैलाली, कञ्चनपुर र बर्दियाका केही विद्यालयमा यो प्रविधिको रंगरोगन गर्न शुरु गरिएको हो ।

स्थानीय सरकारको सक्रियता र प्राक्टिकल एक्सनको सहयोगमा नमूना विद्यालय छनौट गरी केही कोठाहरुमा परीक्षण स्वरुप रिफ्लेक्टिभ पेन्ट गरिएको हो । रिफ्लेक्टिभ पेन्ट भनेको सूर्यको प्रकाशको किरणहरूलाई सतहबाट फिर्ता (परावर्तन) गर्ने विशेष रङरोगन हो । सामान्य रङरोगनहरूले सूर्यको ऊर्जा सोस्छन् । तर रिफ्लेक्टिभ पेन्टले प्रकाश र ताप दुवैलाई धेरै हदसम्म फिर्ता फर्काइदिन्छ ।

यसलाई “कूल रूफ टेक्नोलोजी” पनि भनिन्छ । यो पेन्टले छत वा भित्ताको ताप सोस्ने दर कम गर्छ र कोठामा बढी गर्मी हुनबाट रोक्न मद्दत पुराउछ । विद्यालयमा रिफ्लेक्टिभ पेन्ट गरेपछि पंखा नहुँदा पनि पठनपाठन सहज हुने भन्दै विद्यार्थीहरु खुशी भएका छन् ।

कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १४ स्थित जनजागृती माध्यमिक विद्यालयका विद्यार्थी सरोज चौधरीले रिफ्लेक्टिभ पेन्ट गरेको कक्षा कोठामा पढ्न पाउँदा उच्च गर्मीबाट सहज महशुस गरेको बताए । बर्दियाको गुलारिया नगरपालिका १२ भैसाहीस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक बिद्यालयको छतमा पनि यस्तै रंग लगाईएको छ ।

विद्यार्थी सुवास थारु र अरुणीमा थारु पनि पंखाले नधान्ने गर्मीलाई रंगरोगनको प्रविधिले कम गरेको अनुभव सुनाउँछन् ।
जनजागृती माध्यमिक विद्यालयका प्रधानाध्यापक टेकबहादुर क्षेत्रीले पेन्टिङ गरेपछि तुलनात्मक रुपमा कम गर्मी महशुस गरेको प्रतिक्रिया दिनुभयो ।

जलवायु उत्थानशिल परियोजनामार्फत विद्यालय उत्थानशिलतामा सहयोग गर्दे आएको प्राक्टिकल एक्शनका जलवायु उत्थानशिल कार्यक्रम प्रमुख विक्रम रानाले तातो हावा अर्थात लू बाट विद्यालय शिक्षालाई प्रभावित हुन नदिन परीक्षणको रुपमा केही विद्यालयमा रिफ्लेक्टिभ पेन्ट गरिएको बताउनु भयो ।

उहाँले भन्नुभयो ‘एउटा नविन प्रयोगका रूपमा हामीले विद्यालयका भवनहरूमा ‘इलास्टोमेट्रिक पेन्ट’ को परीक्षण गरिरहेका छौँ । तराईका सरकारी विद्यालयहरू जहाँ एसी वा फ्यान(पंंखा) को पर्याप्त सुविधा छैन । त्यहाँका कङ्क्रिटका छतहरूले धेरै तापक्रम सोस्छन् । यो विशेष प्रकारको रङ लगाएपछि भवनले सोस्ने तातो १८ देखि २० प्रतिशतसम्म रिफ्लेक्ट हुन्छ भन्ने वैज्ञानिक आधार छ । हामीले १४ वटा विद्यालय लक्षित गरेकोमा अहिले चार वटामा यो रङ लगाएका छौँ । विद्यार्थीलाई नै रङ लगाएको कोठा र नलगाएको कोठाको तापक्रम मापन गर्न लगाएर त्यसको प्रभाव अध्ययन गरिरहेका छौँ । यो नविन प्रयोग हो । यसले ‘हुँदा खाने’ वर्गलाई प्रत्यक्ष फाइदा पु¥याउने भएकाले यो महत्वपूर्ण छ । जसले एसी जडान गर्न सक्दैनन्, उनीहरूका लागि यो रङ एउटा दिगो समाधान हुनसक्छ । यस बाहेक हामीले स्थानीयस्तरमा चिसो पानी राख्न प्रयोग गरिने माटोका घैँटोहरू वा चौतारीमा बसेर पानी खाने जस्ता पुराना उपयोगी परम्पराहरूलाई पनि कसरी आधुनिक आवश्यकतासँग जोड्न सकिन्छ भनेर हेरिरहेका छौँ ।’ 

images

भारत तथा अन्य विभिन्न मुलुकहरुमा अपनाइएको यस प्रविधि नेपालका कञ्चनपुर, कैलाली र बर्दियाका विद्यालयमा पनि परिक्षण गरिएको हो । जलवायु उत्थानशील कार्यक्रम अन्तर्गत प्राक्टिकल एक्शन, स्थानीय सरकार र विद्यालय व्यवस्थापनको सहकार्यमा यो कार्यक्रम लागु गरिएको हो । नमूना परीक्षण गरिएका विद्यालयको छतमा सेतो रंग लगाइएको छ र कक्षाकोठामा तापक्रम मापनका लागि थर्मोमिटर राखिएको छ । यस्तै, सेतो रंग नलगाइएको विद्यालयको भवनमा पनि अर्को थर्मोमिटर राखिएको छ । दुवै थर्मोमिटरमा हरेक दिन तापक्रम मापन गरिन्छ ।

यसरी तापक्रम मापन गर्दा रिफ्लेक्टिभ पेन्ट (सेतो रंग) नलगाएको भवनमा भन्दा सेतो रंग लगाएको कक्षाकोठामा तापक्रम कम भएको निरन्तरको अध्ययनले देखाएको छ । कोठाको तापक्रम नाप्नका लागि सेन्सर मेसिन जडान गरिएको छ । सेन्सर मेसिनले देखाएको परिणामका आधारमा एक बर्षपछि परिक्षणको अन्तिम निष्कर्ष निकालिने छ । परिक्षण सफल भएमा थप विद्यालयमा पनि पेन्ट गरिने ‘विद्यालयमा उत्थानशीलता’ परियोजनाले जनाएको छ ।

अत्याधिक गर्मी र लु न्युनिकरणका लागि यी विद्यालयमा गरिएको प्रयासलाई प्रभावकारीताका आधारमा अन्य विद्यालयमा पनि राख्न सक्ने हो भने तातोहावाका कारण विद्यालय शिक्षा प्रभावित हुनबाट जोगिनेछ । तराईका अत्याधिक गर्मी हुने जिल्लाहरुमा विद्यालयसँगै सार्वजनिक र सरकारी कार्यालयहरुमा पनि यो प्रविधि विस्तार गर्न सक्ने हो भने नागरिकको सेवा प्रवाह पनि चुस्त दुरुस्त बन्ने थियो । त्यसैले जलवायु उत्थानशिलतातर्फ अग्रसर हुन यस्ता प्रविधिमा तीनवटै सरकारले बजेट छुट्याउन जरुरी छ ।

 

 

Nepal life insuranceimagesimagesimages