

काठमाडौं, ०७ जेठ । मधेस प्रदेशको अर्थतन्त्रमा कृषि क्षेत्र कमजोर बन्दै जाँदा चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर पनि सुस्त रहने संकेत देखिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयअन्तर्गत तथ्यांक समन्वय कार्यालय धनुषाले सार्वजनिक गरेको प्रादेशिक कुल गार्हस्थ्य उत्पादनसम्बन्धी प्रतिवेदनले कृषि उत्पादनमा आएको गिरावटले समग्र आर्थिक गतिविधिमा असर परेको जनाएको हो।

विशेषगरी पर्याप्त वर्षा नहुँदा धान उत्पादन घटेको छ भने मत्स्य तथा वन क्षेत्रसमेत प्रभावित बनेका छन्। यसकै प्रभावले मधेसले पछिल्ला तीन वर्षयताकै न्यून आर्थिक वृद्धिदर सामना गर्नुपर्ने अवस्था आएको तथ्यांक अधिकृत नरबहादुर कुँवरले जानकारी दिएका छन्।

कार्यालयका अनुसार आर्थिक वर्ष २०८०÷८१ मा मधेसको आर्थिक वृद्धिदर ३.१८ प्रतिशत रहेको थियो भने २०८१÷८२ मा यो घटेर २.७२ प्रतिशतमा सीमित भएको थियो। लगातार कृषि उत्पादन कमजोर बन्दै जाँदा प्रदेशको आर्थिक गति पनि ओरालो लागेको देखिएको छ।
प्रारम्भिक अनुमानअनुसार आर्थिक वर्ष २०८२÷८३ मा राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा मधेस प्रदेशको योगदान १३.१ प्रतिशत रहनेछ।
कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका सदस्य राजकिशोर सिंहले कृषिमा आएको गिरावट नै मुख्य चुनौती भएको उल्लेख गर्दै आगामी बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा सामाजिक विकासलाई प्राथमिकतामा राखिने बताएका छन्।



