

काठमाडौं, ०७ जेठ । सेयर बजारमा लामो समयदेखि प्रतीक्षामा रहेको सेटलमेन्ट ग्यारेन्टी फण्ड अब सञ्चालनमा आउने भएको छ। फण्डले आफ्नै प्यान नम्बर प्राप्त गरेपछि यसको औपचारिक कार्यान्वयनको बाटो खुलेको हो। आवश्यक कानुनी र प्रशासनिक प्रक्रिया टुंगिन नसक्दा हालसम्म यो व्यवस्था कार्यान्वयनमा आउन सकेको थिएन।

धितोपत्र कारोबार सञ्चालन विनियमावलीअन्तर्गत रहेको यो फण्डलाई ‘राफसाफ कोष’ का रूपमा चिनिन्छ। यसको मुख्य उद्देश्य कारोबारका क्रममा उत्पन्न हुने अस्थायी वित्तीय समस्या समाधान गर्नु हो। कतिपय अवस्थामा सेयर खरिदकर्ताले ब्रोकरलाई रकम बुझाउन ढिलाइ गर्न सक्छन्, तर ब्रोकरले भने बिक्रीकर्तालाई समयमै भुक्तानी गर्नुपर्छ। यस्तो अवस्थामा रकम अभाव भए ब्रोकरले यही कोषबाट सात दिनसम्म सापटी लिन सक्नेछन्।

विनियमावलीअनुसार सापटी लिँदा वार्षिक १० प्रतिशत ब्याज लाग्नेछ। कोष सञ्चालन समितिमा नेप्से, सिडिएससी र ब्रोकर प्रतिनिधिको सहभागिता रहने व्यवस्था गरिएको छ।
हालसम्म कोषमा करिब १० करोड रुपैयाँ जम्मा भइसकेको छ। ब्रोकर, नेप्से र सिडिएससीले नाफाको ०.५ प्रतिशत रकम यसमा योगदान गर्दै आएका छन्। नेप्सेका अनुसार फण्ड सञ्चालनमा आएपछि बजारको राफसाफ प्रक्रिया थप सहज र विश्वसनीय बन्ने अपेक्षा गरिएको छ।



