प्रधानमन्त्री साह कुनै छुट्टै टापुको सम्राटजस्तो अनुभूति भईरहेको छः काँग्रेस नेता केसी

 

 

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री बालेन्द्र साह संसदको अभिन्न अंग जस्तो आफूलाई अनुभूति नभएको टिप्पणी गर्नुभएको छ ।
बिहीवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले प्रधानमन्त्री संसदको अंग हो कि होइन ? भनेर प्रश्न समेत गर्नुभयो ।

उहाँले प्रधानमन्त्री साहलाई मुलुकको नभई कुनै छुट्टै टापुको सम्राटजस्तो देखिएको जिकीर पनि गर्नुभयो । विपद व्यवस्थापनमा सरकार गम्भिर हुनुपर्ने बेला गृहमन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री साह संसदमा नआएकोमा नेता केसीको आपत्ति थियो ।

उहाँले भन्नुभयो,‘सम्माननीय प्रधानमन्त्री नै अहिले गृहमन्त्री हुनुहुन्छ । विपद्को विषय गृह मन्त्रालयले गम्भिरतापूर्वक लिने विषय हो । अब उहाँ नै गृहमन्त्री  हुनुहुन्छ । उहाँ स्वयं आफू यो संसदको अंग हो कि होइन ? सभामुखजी मैले चाहीँ थाहा पाएको छैन है । उहाँ भिन्दै साम्राज्यको कहीँको टापुको सम्राट हो कि यो संसदको पनि अभिन्न अंग हो ? त्यतातिर पनि म ध्यानाकर्षण गराउन चाहन्छु । यो गम्भिर विषयमा सरकारले गहिरोसँग ध्यान दिनुपर्ने । र, विगत वर्षहरु भएको बेथितिबाट मात्रै थिति  बसाल्न सक्दैनौ । हरेक बेथितिबाट थिति बसाल्ने एउटा निश्चित अवधारणासहित कार्यगत योजनाबाट मात्रै हामी नयाँ कुराको निर्माण गर्नसक्छौँ ।’

सांसद केसीले सरकारले विपद व्यवस्थापनमा गहिरोसँग ध्यान आवश्यक रहेको पनि स्पष्ट पार्नुभयो ।

 

 

Nepal life insuranceimagesimagesimages