काजीको अग्रिम टिकट बुकिङमा आकर्षण बढ्दो

 

 

काठमाडौं। आगामी जेठ ८ गते अर्थात् भोलि शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘काजी’ को अग्रिम टिकट बुकिङ तथा बिक्री खुला गरिएसँगै दर्शकको आकर्षण बढेको छ। फिल्मको ट्रेलर र गीत सार्वजनिक भएसँगै दर्शकमाझ यसको बढ्दो उत्साहलाई ध्यानमा राखेर देशभरका मल्टिप्लेक्सले फिल्मलाई शो उपलब्ध गराएका छन्, जहाँ दर्शकको चासो र आकर्षण बढेको पाइएको छ।

फिल्म शो खुल्ने बितिकै दर्शकले आफ्नो टिकट बुकिङ तथा खरिद गरिरहेका छन्। अनलाइन एप र फिल्म प्रदर्शकको वेब साइटमा ‘काजी’ लाई लिएर दर्शक उत्साहित देखिएका छन्। प्रदर्शकले उपलब्ध गराएको शोमा दर्शकको चाँप बढिरहेको छ। दर्शकको यो आकर्षणले शुक्रबार फिल्मले धमाकेदार सुरुआत गर्ने वितरकको विश्वास छ।  निर्माता रामप्रसाद रिजालका अनुसार ‘काजी’ लाई लिएर दर्शकले देखाउनुभएको आकर्षणले टिम उत्साहित छ।

‘हामीले इमान्दार भएर एउटा उत्कृष्ट फिल्म दर्शक माँझ ल्याएका छौँ, हामीले कुनै कुमार कन्जुस्याइँ नगरेर फिल्म तयार गरेका छौँ। शुक्रबारदेखि सार्वजनिक प्रदर्शन हुने फिल्म हेरेपछि दर्शकले प्रेम, समर्पण र भावनात्मक सम्बन्धको अर्थलाई काजी र कजिनीमार्फत महसुस गर्नुहुनेछ। हामी सम्पूर्ण टिम दर्शक प्रतिक्रिया लिन निकै उत्साहित छौँ’, निर्माता रिजालले भने।

उक्त फिल्मको कथा, पात्र र अभिनयका कारण अभिनेता विपिन कार्की चर्चामा छन्। उनका अनुसार ‘काजी’ आफूले यसअघि नगरेको फरक शैलीको प्रेमकथामा आधारित फिल्म हो। आफ्नै फिल्मको खासै प्रचार नगर्ने विपिन यसपटक भने ‘काजी’ लाई लिएर विश्वस्त छन्।

‘काजी मैले ढुक्कले हेर्नुस् भन्नसक्ने फिल्म बनेको छ। यसमा देखाइएको प्रेम र समर्पणले दर्शकलाई हलबाट निस्किदै गर्दा केही दिएर नै पठाउँछ। मैले अहिले निर्धक्क भएर बोलिरहेका शब्दलाई दर्शकले फिल्म हेरेर निस्किदै गर्दा महसुस गर्नुहुनेछ’, अभिनेता कार्कीले भने।

अभिनेता कार्कीका अनुसार ‘काजी’ इनिसियलसँगै दर्शककै सिफारिसमा आक्रमक हुनेछ। ‘काजी हेरेर निस्किएका दर्शकले अन्यलाई सिफारिस गरेर फिल्म हेर्न पठाउनुहुनेछ, म ढुक्क छु’, अभिनेता कार्कीले भने।

फिल्मलाई लक्ष्मण रिजालले निर्देशन गरेका छन्। श्रीमान्-श्रीमतीबीचको समझदारी, त्याग र सँगै खुसी भएर बाँच्ने भावनालाई फिल्मको केन्द्रमा राखिएको छ।फिल्ममा विपिनसँगै केकी अधिकारी, गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट र हिउँवाला गौतमलगायत कलाकारहरूको अभिनय रहेको छ। प्रदीप भारद्वाजको कथा रहेको फिल्मलाई रामप्रसाद रिजालले प्रस्तुत गरेका हुन्।

रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा नेहान रिजाल र विकाशराज जोशी निर्माता रहेका छन्। चिन्तन राजभण्डारीको छायांकन, कालीप्रसाद बास्कोटाको संगीत र विपीन मल्लको सम्पादन रहेको फिल्म ‘काजी’लाई श्रीराम बालाजी फिल्म्सले वितरण गर्ने जिम्मेवारी लिएको छ।

 

Nepal life insuranceimagesimagesimages

अन्य समाचारहरु