

काठमाडौँ । आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गत आज नेपाल र अमेरिका आमने सामने हुदैछन् ।
टियु क्रिकेट मैदानमा हुने यस खेलमा अमेरिकाले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । योसंगै नेपालले पहिला ब्याटिंग गर्ने भएको छ ।
नेपालले आज खेलाडीमा कुनै परिवर्तन गरेको छैन । आज रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरि (उप-कप्तान), कुशल भुर्तेल, आसिफ सेख, आरिफ सेख, ईशान पाण्डे, गुलशन झा, सन्दीप लामिछाने, ललित राजवंशी, नन्दन यादव र सोमपाल कामी रहेका छन् ।

यस सिरिजमा नेपाल र अमेरिका दोस्रो पटक खेल्न लागेका हुन् । पहिलो खेलमा नेपालले अमेरिकालाई ९ विकेटले पराजित गरेको थियो । यस सिरिजमा नेपालले खेलेका ३ खेलमा २ जित र एक हार बेहोरेको छ भने अमेरिकाले खेलेका ३ खेलमा एक जित र २ हार बेहोरेको छ ।
जारी लिग- २ अंक तालिकामा नेपालले अहिलेसम्म २७ खेल खेलेर १० जित र १५ हार बेहोरेको छ भने २ खेलमा अंक बाड्दा २२ अंक हासिल गरेर पाँचौं स्थानमा रहेको छ ।
त्यस्तै अमेरिका भने अहिलेसम्म २७ खेलमा १९ जित र ८ हारसहित ३८ अंकसहित शिर्ष स्थानमा रहेको छ ।



