

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- नेकपा एमालेमा केपी शर्मा ओलीको नेतृत्वमा औपचारिक रुपमा नै प्रश्न उठेको छ । शुक्रबार बसेको बैठकमा बोलेका पाँच मध्ये चार उपाध्यक्षले अध्यक्ष ओलीको नेतृत्वमाथि प्रश्न गर्दै मार्ग प्रशस्त गर्न सुझाव दिएसँगै अब एमालेमा नेतृत्व परिवर्तनको बहस शुरु भएको हो । बैठकमा उपाध्यक्ष विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, रघुजी पन्त र गोकर्ण विष्टले ओलीलाई मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए । बैठकमा बोलेका उपाध्यक्ष रामबहादुर थापा बादलले भने संकटको बेला नेतृत्वको रक्षा गर्नुपर्ने भन्दै ओलीको बचाउ गरेका थिए । बैठकमा ओलीले नेतृत्वको विरुद्ध जानेलाई अनुशासनको कारवाही गर्ने चेतावनी दिएपछि असहज अवस्था सिर्जना भएको बताइएको छ । उनले पार्टी र नेतृत्वमा चारै तिरबाट आक्रमण भएको समयमा नेतृत्वविरुद्ध गतिबिधि गर्नेलाई अनुशासनको कारवाही गर्ने चेतावनी दिएका थिए । ओलीको चेतावनीको उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले प्रतिवाद गरेका थिए । उनले पार्टी अध्यक्षको मात्र नभएको भन्दै पार्टी निर्माणमा सबैको योगदान भएको भन्दै प्रतिवाद गरेका थिए । बैठकपछि बोल्दै उपमहासचिव लेखराज भट्टले आजको बैठकमा पाँचै उपाध्यक्षले खुलस्त कुरा गरेको जानकारी दिदै बैठक शनिबार बिहान साढे ११ बजेदेखि शुरु हुने बताए ।

२- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध रहेको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुरसम्बन्धी अभियोग फिर्ता गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ । शुक्रबार न्यायधाीश हिमलाल बेल्बासेको एकल इजलासले सहकारी ठगीतर्फको अभियोग दावी कायम रहने तर अन्य मुद्दा अभियोग दावी कायम नरहनेगरी संशोधन गर्न आदेश दिएको हो । आदेशमा अभियोजनकर्ताको संशोधनको मागमा कुनै दुरासय नदेखिई जाहेरवाला र अभियोग लगाइएका व्यक्तिहरूसमेतका दुवै पक्षका हक अधिकारप्रति संवेदनशीलता नै देखिएको समेतबाट निवेदकको निवेदन माग बेहोरा मनासिव रहेको देखिँदा निवेदन मागवमोजिम प्रस्तुत निवेदनसँग सम्बन्धित उक्त मूल, थप र पुरक अभियोगपत्रहरूमा सहकारी ठगीको अभियोग दावी कायम राखी अन्य संगठित अपराध र सम्पत्ति शुद्धीकरणसमेतको अभियोग दावी कायम नरहने गरी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम संशोधन गरिदिएको उल्लेख छ । साथै आदेशमा यो संशोधन आदेशलाई प्रस्तुत निवेदनसँग सम्बन्धित उक्त मुल, थप र पुरक अभियोगपत्रहरूको अभिन्न अग मानी मिसिल संलग्न राखी नियमानुसार गर्न भनिएको छ । तत्कालीन महान्यायाधिवक्ता सबिता भण्डारीले स्वीकृति दिएपछि जिल्ला सरकारी वकिल कार्यालयले दुई वटा कसुर झिक्ने र सहकारी ठगी सम्बन्धी कसुरलाई यथावत राख्ने भन्दै जिल्ला अदालतमा निवेदन दिएको थियो । सोहि निवेदन अनुसार लामिछानेसँगै जिबी राई, पूर्वडिआइजी छविलाल जोशी र अन्य प्रतिवादीहरूको पनि सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुर झिक्ने निर्णय सदर भएको छ ।
३- राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंमाथि दोस्रो पटक म्याद थप भएको मितिसम्म अनुसन्धान सक्नका लागि सर्वोच्च अदालतले परमादेश जारी गरेको छ । न्यायाधीश विनोद शर्मा र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरणको खारेज गर्दै म्याद थप भएको सोमबारसम्म अनुसन्धान सक्न परमादेश जारी गरेको हो । जिल्ला प्रहरी कार्यालय पर्साले प्रसाईलाई विहिबार चारदिनको म्याद थप गरे अनुसार सर्वोच्चले सो समय अवधिमा अनुसान्धान सकेर मुद्दा चल्ने भएमा सोही बमोजिम गर्न र नभएमा थुनामुक्त गर्न परमादेश दिएको छ । यसअघि बुधबार उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले प्रसाईंलाई पक्राउ गरेर थुनामा राख्नुको कारण मागेको थियो । प्रसाईंलाई मंगलबार पर्साको वीरगन्जबाट पक्राउ गरिएको थियो । पर्सा प्रहरीले वीरगन्जको दियालो होटलबाट नियन्त्रणमा लिइ विद्युतीय ( इलेक्ट्रोनिक ) कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता गरेको थियो । प्रसाईंको हकमा अधिवक्ता आशिष लुइटेलले जिल्ला प्रहरी कार्यालय पर्सालाई विपक्षी बनाइ सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

४- नेपालले काभा महिला भलिबल च्याम्पियनसिप २०२६ को पहिलो खेलमा भारतसँग हार बेहोरेको छ । शुक्रबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा सम्पन्न खेलमा नेपाल भारतसँग ३-२ को सेटमा पराजित भएको हो । नेपालले पहिलो सेट २५-२१ जितेर सुखद शुरुवात गरेपनि त्यसपछिका दुवै सेट २५-२० र २५-१९ जित्त्दै भारतले खेलमा पुनरागमन गरेको थियो । त्यसपछि चौथो सेट नेपालले पनि पुनरागमन गर्दै २५-२१ ले जिते निकालेको थियो । त्यसपछि भएको निर्णायक पाँचौं सेटमा नेपाल १५- ९ ले पराजित भयो र खेल भारतले जित्यो । यो प्रतियोगिता एफआईभीबी र्याङ्किङ प्रतियोगिता भएको कारण वरियताको लागि पनि यो प्रतियोगिता सबै टिमको लागि महत्वपूर्ण रहनेछ। प्रतियोगितामा आयोजक नेपाल र भारतसँगै किर्गिजस्तान र माल्दिभ्ससँग पुल ‘ए’ मा रहेका छन् भने श्रीलंका, बङ्गलादेश, इरान र काजकिस्तान पुल ‘बी’ मा छन् । नेपालले अब दोस्रो खेल जेठ ९ गते किर्गिस्तानसँग र तेस्रो खेल जेठ १० गते माल्दिभ्ससँग खेल्ने तालिका रहेको छ ।
५- नेपाल सरकारअन्तर्गत भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय मातहत रहेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाका ऋणीहरूको नामावली सार्वजनिक गरेको छ । समितिले वैशाख २३ गते बसेको बैठकको निर्णयअनुसार उक्त नामावली सार्वजनिक गरिएको जनाएको छ। यसअघि नेपाल सरकारले मिति २०८०/१२/१३ मा गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको थियो । समितिका अनुसार उपलब्ध ऋणी विवरणका आधारमा नामावली सार्वजनिक गरिएको हो। साथै, ऋण चुक्ता गरिसकेका तर नामावलीमा नाम समावेश भएका व्यक्तिहरूलाई आवश्यक प्रमाणसहित उपस्थित हुन आग्रह गरिएको छ । त्यस्तै, हालसम्म ऋण भुक्तानी नगरेका ऋणीहरूलाई समितिको कार्यालयमा सम्पर्क गरी यथाशीघ्र ऋण चुक्ता गर्न निर्देशन दिइएको छ। अन्यथा प्रचलित कानूनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने समितिले चेतावनी दिएको छ ।
६- कांग्रेस नेतृत्वको मधेश प्रदेश सरकारले विश्वासको मत पाएको छ । मुख्यमन्त्री कृष्ण प्रसाद यादवले राखेको विश्वासको मत लिने प्रस्तावको पक्षमा ६२ मत परेपछि उनले प्रदेश सभाबाट विश्वासको मत पाएका हुन् । मत बिभाजनको प्रक्रियामा सय सांसद उपस्थित रहेका थिए भने विश्वासको मत लिने प्रस्तावको पक्षमा ६२ र विपक्षमा ३६ मत परेको थियो । मुख्यमन्त्री यादवले यसअघि सत्ता गठबन्धनमा रहेका जनमत र जसपा नेपाललाई बाहिर राखेर एमाले र नेकपासँग सत्ता गठबन्धन गर्दै विश्वासको मत लिएका छन् । १०७ सदस्यीय मधेश प्रदेशमा नेकपा एमालेको सबै भन्दा धेरै २४ सिट रहेको छ भने नेपाली काँग्रेसको २२, जसपा नेपालको १८, नेकपाको १५, जनमत पार्टीको १२, लोसपाको ८ तथा राप्रपा र नेपाल संघीय समाजवादी पार्टीको एक एक सिट रहेको छ ।

७- भारतलाई पछ्याउँदै, पाकिस्तानमा कक्रोच जनता पार्टी (सिजेपी) जस्ता धेरै अनलाइन पार्टीहरू देखा परेका छन् र लोकप्रियता प्राप्त गरिरहेका छन् । कक्रोज अवामी पार्टी र कक्रोज अवामी लिग जस्ता समूहहरू पनि पाकिस्तानमा देखा परेका छन् । इन्स्टाग्राममा देखा पर्ने पहिलो पृष्ठ कक्रोच अवामी पार्टी छ । यो पृष्ठले भारतीय आन्दोलनबाट आफ्नो प्रेरणालाई खुला रूपमा स्वीकार गरेको छ । यसको बायोमा लेखिएको छ- ‘हो, मैले कपि गरेका हौँ र उद्देश्य एउटै हो ।’ पाकिस्तानको यो कक्रोच पार्टीले यो कुनै व्यक्ति वा टोलीसँग सम्बद्ध नभएको दाबी गरेको छ, बरु पाकिस्तानको सम्पूर्ण जेनजी पुस्ताको आवाज बन्ने लक्ष्य राखेको छ । यसको लोगो भारतीय पार्टीको जस्तै छ, तर रङहरू हरियो र सेतो छन् । यसले इमरान खानको पिटीआई, पीएमएल- एन र पीपीपी जस्ता मुख्यधाराका पार्टीहरूको विकल्पको रूपमा आफूलाई प्रस्तुत गर्दछ । यसका धेरैजसो पोस्टहरू विभिन्न सिर्जनाकर्ताहरूबाट लिइएका मीम्स र छोटो भिडियोहरू छन् । यो खाताले मे २८ मा आफ्नो आधिकारिक नारा जारी गर्ने पनि बताएको छ । अर्को खाता, कक्रोच अवामी लिग पाकिस्तानले आधिकारिक भएको दाबी गरेको छ । यसको उर्दू नारा ‘हामी हरेक तरिकाले जीवित छौं’ हो । भारतको कक्रोच जनता पार्टीसँग स्पष्ट संस्थापक, घोषणापत्र र वेबसाइट भए पनि, पाकिस्तानमा यी समूहहरू अझै पनि छरिएका छन् । धेरै मानिसहरूले आफ्नै तरिकाले समान पृष्ठहरू सिर्जना गरिरहेका छन् । भारतमा भने कर्क्रोच पार्टीलाई युवाहरुले व्यापक समर्थन गरेका छन् । सर्वोच्च अदालतका प्रधानन्यायाधीश सूर्यकान्तले बेरोजगार युवाहरू, पत्रकारिता र सामाजिक सक्रियतामा लाग्ने समूहलाई कक्रोच भनेर गरेको टिप्पणीपछि शुरुवात गरिएको यो अभियानको इन्स्टाग्राममा मात्र यस पार्टीको एकाउन्टमा फलोअरको संख्या २ करोड ७ लाख भन्दा बढी भइसकेको छ ।
८- नेपालले अमेरिकालाई पराजित गरेको छ । आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गतको सिरिजको अन्तिम खेलमा नेपालले अमेरिकालाई १२२ रनले पराजित गरेको हो । नेपालले दिएको ३१८ रनको लक्ष्य पछाएको अमेरिकाले ४१.२ ओभरमा अल आउट हुदै १९५ रन बनाएको हो । अमेरिकाका लागि संजय कृष्णमुर्तिले सर्बाधिक ५६ रन बनाएका थिए भने शयान जहागिरले २७ र शेहान जयसूर्याले २६ रन बनाएका थिए । त्यस्तै नेपाली बलर सन्दीप लामिछानेले ३ विकेट लिए भने ललित राजबंशी, दिपेन्द्र सिंह ऐरी र गुलशन झाले २-२ विकेट लिएका थिए । त्यसैगरी सोमपाल कामीले एक विकेट लिएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउदै ३१७ रन बनाएको थियो । नेपालका लागि इशान पाण्डेले सर्बाधिक ८४ रन बनाएका थिए । उनको यस सिरिजमा लगातार दोस्रो अर्धशतक हो । तेस्रो एकदिवसीय खेल खेलिरहेका इशानले दुई अर्धशतक बनाएर नेपालको मिडल अर्डरलाई बलियो बनाएका थिए । त्यस्तै दिपेन्द्र सिंह ऐरीले ५९ रनको अर्धशतकीय पारी खेलेका थिए । त्यस्तै कप्तान रोहित पौडेलले ४६, आसिफ सेखले ४३, कुशल भुर्तेलले २९, गुलशन झाले १५, सोमपाल कामीले ५ र आरिफ सेखले अविजित १८ रन बनाएका थिए । त्यसैगरी अमेरिकाका बलर शुभम रन्जानेले ३ विकेट लिएका थिए भने रुशील उग्राकर र मिलिन्द कुमारले एक एक विकेट लिएका थिए । यो जितपछि नेपालको २८ खेलमा २४ अंक भएको छ र नेपाल पाँचौं स्थानमा रहेको छ । त्यस्तै अमेरिकाको २८ खेलमा ३८ अंक रहेको छ ।
९- नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्ष मनिषलाल प्रधान निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न निर्वाचनबाट अध्यक्ष अन्जन श्रेष्ठ पक्षका वैद्य र प्रधान निर्वाचित भएका हुन् । वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण र रामचन्द्र संघई तथा कोषाध्यक्षमा मनिषलाल प्रधान र अम्बिका पौडेलबीच प्रतिस्पर्धा भएको थियो । वैद्यले ५६ मत पाएर विजयी हुदा संघईले ३० मत पाएका थिए । यस्तै कोषाध्यक्षमा प्रधानले ६१ मत पाएर विजयी हुदा पौडेल २५ मत प्राप्त गरेको निर्वाचन समितिले जानकारी दिएको छ ।
१०- नेप्सेमा आज वृद्धि भएको छ । आज शुक्रबार नेप्से १६.३८ अंकले बढेर २७५८.४९ विन्दुमा पुगेर रोकिएको छ । आज ३३६ कम्पनिका एक करोड ८ लाख ८८ हजार ७३९ कित्ता शेयर ४ अर्ब ४९ करोड ८५ लाख १६ हजार ९४ मा कारोबार भएको थियो । आज ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज, सबैभन्दा बढी क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्सको शेयर १४.८१ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी एनआइएसी एशिया ब्यालेन्स फन्डको शेयर २.५९ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी अन्खु खोला जलविद्युतको ४३ करोड ९५ लाख बराबर कारोबार भएको छ भने रिढी पावरको २४ करोड ५४ लाख बराबरको कारोबार भएको छ ।
११- सरकारले नेपाली चियाको भारत निर्यातमा देखिएको अवरोध हटेको बताएको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार नियमित पत्रकार सम्मेलनमार्फत नेपाली चियाको भारत निर्यातमा देखिएको अवरोध हटेको बताएको हो । मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भारतीय टी बोर्डले जारी गरेको निर्देशिकाका कारण नेपाली चिया निर्यातमा परेको प्रभाव कूटनीतिक पहलपछि समाधान भएको जानकारी दिएका हुन् । उनले नयाँ दिल्लीस्थित नेपाली दूतावास र मन्त्रालयको समन्वयपछि भारतीय पक्षले उक्त निर्देशिका संशोधन गरेसँगै नेपाली चियाको निकासी सहज भएको बताए । भारतको चिया बोर्डले गत फेब्रुअरी १० मा चिया आयातसम्बन्धी नयाँ निर्देशिका जारी गर्दै भारतमा चिया निर्यातका लागि निर्यातकर्ताहरूले ‘स्ट्यान्डर्ड ओपरेटिङ प्रसीजर’ को पालना गर्नुपर्ने व्यवस्था गरेको थियो । जस अनुसार प्रत्येक खेपको ढुवानीबाट चियाको नमुना लिएर प्रयोगशालबाट परीक्षणमा पास भएपछि मात्र निर्यात गर्न पाइने व्यवस्था गरिएको थियो । प्रति परीक्षण निर्यातकर्ताहरूले ११ हजार १२० भारु र आवश्यक जीएसटीबापत लाग्ने रकम तिर्नुपर्ने व्यवस्था गरिएको थियो । निर्देशिकानुसार प्रयोगशालाले १४ दिनभित्र परीक्षणको नतिजा उपलब्ध गराउनुपर्ने उल्लेख थियो ।
१२- इङल्याण्डको फिफा विश्वकप फुटबल खेल्ने टिमको घोषणा गरिएको छ । प्रशिक्षक थोमस टुचेलले कोल पाल्मर, फिल फोडेन, ह्यारी म्यागुरे, ट्रेन्ट अलेजान्डर आर्नोल्ड जस्ता खेलाडीलाई बाहिर राख्दै २६ सदस्यीय टिमको घोषणा गरेका हुन् । इङल्याण्डको विश्वकप टिम: गोलरक्षकः जोर्डन पिकफोर्ड (एभर्टन), डीन हेन्डरसन (क्रिस्टल प्यालेस) र जेम्स ट्राफोर्ड (म्यानचेस्टर सिटी) । डिफेन्डर: रीच जेम्स (चेल्सी), टिनो लिभरामेन्टो (न्यु क्यासल), मार्क गुएही (म्यानचेस्टर सिटी), एज्री कोन्सा (एस्टन भिल्ला), जोन स्टोन्स (म्यानचेस्टर सिटी), जारेल क्वान्सा (बायर लेभरकुसेन), निको ओ’राइली (म्यानचेस्टर सिटी), ड्यान बर्न (न्यु क्यासल) र जेड स्पेन्स (टोटनह्याम) । मिडफिल्डर: डेक्लान राइस (आर्सनल), इलियट एन्डरसन (नोटिङ्घम फरेस्ट), जुड बेलिङ्घम (रियल मड्रिड), जोर्डन हेन्डरसन (ब्रेन्टफोर्ड), मोर्गन रोजर्स (एस्टन भिल्ला), कोबी मेनु (म्यानचेस्टर युनाइटेड) र एबेरेची एजे (आर्सनल) । फरवार्ड: ह्यारी केन (बायर्न म्युनिख), इभान टोनी (अल अहली), ओली वाटकिन्स (एस्टन भिल्ला), बुकायो साका (आर्सनल), नोनी मादुके (आर्सनल), मार्कस रासफोर्ड (म्यानचेस्टर युनाइटेड) र एन्थोनी गोर्डन (न्यु क्यासल) । विश्वकपमा इङल्याण्ड समुह एल मा क्रोसिया, घाना र पानामासँग रहेको छ । विश्वकपमा इङल्याण्डले पहिलो खेल जुन १७ मा क्रोसियासँग, जुन २३ मा घानासँग र जुन २७ मा पानामासँग खेल्ने तालिका रहेको छ ।
१३- संविधान संशोधनका विषयमा नागरिक तहबाट राय तथा सुझाव संकलन गर्ने उद्देश्यले संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले सार्वजनिक सूचना जारी गरेको छ । मन्त्रिपरिषद्को गत चैत १६ गतेको निर्णयअनुसार प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठन गरिएको ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ ले संविधान संशोधन प्रक्रियामा आम नागरिकको सहभागिता सुनिश्चित गर्न लिखित रूपमा सुझाव मागेको हो । कार्यदलले सबै नागरिकलाई नेपालको संविधानमा आवश्यक देखिएका सुधार तथा संशोधनसम्बन्धी सुझाव सात दिनभित्र पठाउन आग्रह गरेको छ । सुझाव पठाउने ठेगाना प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार, काठमाडौँमा रहेको ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२” को सचिवालय तोकिएको छ । सुझाव इमेलमार्फत पनि पठाउन सकिने व्यवस्था गरिएको छ । इमेल ठेगाना sambidhansansodhan@gmail.com तथा sambidhansansodhan@opmcm.gov.np रहेको छ । साथै, ९८५६०२९९४७ नम्बरको व्हाट्सएपमार्फत पनि सुझाव पठाउन सकिने सूचनामा उल्लेख छ । उक्त कार्यदलमा संघीय संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबाट एक–एक जना प्रतिनिधि रहेका छन् । त्यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानून सचिव, नेपाल कानून आयोगका सचिव सदस्य रहनेछन् भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको कानून तथा फैसला कार्यान्वयन महाशाखा प्रमुख सदस्य–सचिव रहने व्यवस्था गरिएको छ ।

१४- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस बर्ष सम्पन्न हुनसक्ने आयोजनालाई प्राथमिकता दिएर बजेट विनियाजन गर्ने बताएका छन् । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक अर्थमन्त्री वाग्लेले बजेटमा यसअघि ७०-८० प्रतिशत सम्पन्न भैसकेका आयोजनालाई यस पटक पर्याप्त बजेट दिएर यसै बर्ष सम्पन्न गर्ने सरकारको लक्ष्य रहेको बताए । उनले लिएको ऋण जीडीपी अनुपात गर्नुपर्ने भन्दै अहिले ऋण पनि लिएको र जीडीपी पनि बढिरहेको बताए । उनले अहिले लिएको ऋण उत्पादन मुलक छ की छैन भन्ने भन्ने हेर्ने बताउदै ऋण लिनु समस्या नभएको दाबि गरे । उनले बजेटमा ठुला आयोजनालाई प्राथमिकतामा नै राखेको बताउदै ठुला आयोजनाको मोडालिटी स्पष्ट गरेर निर्णय गर्ने बताए । उनले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ऋण लिएर बनाएपछि संचालन गर्न नसकेको उदाहरण दिदै निजगढ विमानस्थलमा अहिले ठुलो रकम लगानी गर्न विगतका सरकार र अहिलेको सरकार पनि सचेत रहेको स्पष्ट गरे । अर्थमन्त्री वाग्लेले राष्ट्रिय क्षमताले भ्याएसम्म अधिकतम लचक भएर बजेट विनियोजन गर्ने बताउदै दैलेखको ग्यास उत्खननलाई चिनियाँ सरकारको सहकार्यमा अगाडी बढाउने र बजेटमा पनि आउने बताए । उनले स्वास्थ्य वीमा धेरै दुरुपयोग पनि भइरहेको भन्दै यसलाई पुनर्संरचना गर्ने बताउदै विपन्न जनताको आधारभूत र सक्नेले योगदानमा आधारित बनाउन सरकारले तयारी गरिएको बताए । अर्थमन्त्री वाग्लेले सांसदहरुले सोधेका प्रश्नको जवाफ दिदै सरकारले मधेशलाई उच्च प्राथमिकता दिने बताए । उनले २०४८-४९ मा शुरु भएका आर्थिक सुधारका कामलाई निरन्तरता दिन सकेको भए अहिले अर्थतन्त्रको आकार अहिलेको दोब्बरको अवस्थामा भएको हुने समेत बताए ।
१५- जेठ १४ गते विहिबार सार्बजनिक बिदा हुने भएको छ । गृह मन्त्रालयले जेठ १४ गते विहिबार बकर इद परेकोले सार्बजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको छ ।
१६- नेपाली बजारमा आज सुनको मुल्य सामान्य घटेको छ भने चाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मुल्य तोलाको एक सयले घटेर तोलाको २ लाख ९३ हजार ७ मा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको २ लाख ९३ हजार ८ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ६५ रुपैयाँले बढेर ५११५ मा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ५०५० मा कारोबार भएको थियो ।
१७- पूर्वाधार विकास मन्त्रालयले सातै प्रदेशमा नयाँ सवारी साधनको दर्ता रोक्का गर्न परिपत्र गरेको छ । शुक्रबार निर्देशक मणिराम भूसालले सवारी साधनको दर्ता रोक्का गर्न परिपत्र गरेका हुन् । बढ्दो ट्राफिक जाम, वायु प्रदूषण र सडकको चापलाई कारण देखाउँदै अर्को सूचना जारी नभएसम्मका लागि सार्वजनिक सवारी दर्ता रोक्न विभागले परिपत्र गरेको जनाएको छ । इन्धनबाट चल्ने मात्र नभई ‘इलेक्ट्रिक (विद्युतीय) सार्वजनिक सवारी साधन’ को समेत नयाँ दर्ता रोक्न विभागले निर्देशन दिएको हो । मन्त्रालयले दिएको निर्देशनमा सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन हुन नसकेका कारण अत्याधिक वायू प्रदुषण, सवारीको चाप र ट्राफिक जाम बढ्न गई आवागमनमा कठिनाई उत्पन्न भएको र इन्धनको बढ्दो मूल्यका कारण सार्वजनिक सवारी तथा यातायातमा पर्न गएको असहजता र कठिनाईको सम्बोधन गर्न सार्वजनिक सवारीको यथोचित व्यवस्थापन गर्नुपर्ने देखिएको उल्लेख छ । त्यस्तै निर्देशनमा भनिएको छ- ‘यस असमान्य परिस्थिति एवं चुनौतिको सम्बोधन गर्न “सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा २४ को उपदफा (३) मा वातावरण प्रदूषण, सवारीको चाप, सडकको स्थिति, सवारी आवागमनमा पर्ने कठिनाई वा यस्तै अन्य कारणले गर्दा सार्वजनिक हितको लागि कुनै किसिमको सवारी साधनको दर्ता रोक्का गर्न मनासिव देखेमा विभागले कुनै वा सबै यातायात व्यवस्था कार्यालयलाई त्यस्तो सवारीको दर्ता रोक्का गर्न आदेश दिन सक्ने ” व्यवस्था भएको हुँदा सार्वजनिक हित एवं नेपाल सरकारले सार्वजनिक सवारीको वैज्ञानिक व्यवस्थापन गर्ने उद्देश्यले अर्को सूचना जारी नगरे सम्म तत्कालका लागि ऐ. ऐनको दफा १४ बमोजिम गरिने दर्ता रोक्का गर्न आवश्यक देखिएकाले तहाँ मन्त्रालय अन्तर्गतका कार्यालय / पालिकाबाट गरिने सार्वजनिक सवारी साधनहरुको (इलेक्ट्रिक सार्वजनिक सवारी साधन समेत) नयाँ दर्ता रोक्का गरिदिनुहुन निर्णयानुसार व्यहोरा अनुरोध छ ।’
१८- गत वैशाख २५ देखि प्रदर्शन भएको फिल्म ‘लालीबजार’ आजदेखि तेस्रो सातामा प्रवेश गरेको छ । तेस्रो सातामा प्रवेश गरेको फिल्मले ५ करोड २५ लाख रुपैयाँको ग्रस कलेक्सन गरिसकेको निर्माण कम्पनि षट्कोण आर्ट्सले जनाएको छ । कम्पनीका सीईओ म्याक्स दीपेश खत्रीका अनुसार फिल्मले जेठ ७ गते बेलुकी ११: ५९ सम्ममा उक्त ग्रस कलेक्सन गरेको हो । उनले प्रदर्शनको पहिलो साताको तुलनामा दोस्रो सातामा १० प्रतिशत बढी दर्शकले फिल्म हेरेको जानकारी दिए । नेपालभरका प्रमुख सहरमा दर्शक भेटेर फर्किएकी अभिनेत्री स्वस्तिमा खड्काले देशभर नै दर्शकको माया उस्तै रहेको बताइन । नेपालभर नै विषयवस्तु, निर्देशकीय पक्ष, कलाकारको जीवन्त अभिनयलाई दर्शकले मुक्तकण्ठले तारिफ गरेका छन् । फिल्म हेरेर निस्किने अधिकाँसले आफ्नो आँखा रसाएको र आमाको सङ्घर्षसँग आफू ‘कनेक्ट’ भएको प्रतिक्रिया दिएका छन् । दर्शकले दिईरहनुभएको ‘वर्ड अफ माउथ’ ले आगामी विकेन्ड फिल्मका लागि सुखद हुने अपेक्षा बढेको छ । फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी, कुन्टल लगायतको अभिनय रहेको छ ।

१९- क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतमा अल नासरले दमाकलाई ४–१ ले हराउँदै साउदी प्रो लिगको उपाधि जितेको छ । सन् २०२३ को जनवरीमा साउदी अरब पुगेपछि रोनाल्डोको यो पहिलो लिग उपाधि हो । अल नासरले क्लब इतिहासको ११औँ लिग उपाधि जित्दा रोनाल्डो आबद्ध भएयताको पहिलो सफलता पनि हात पारेको हो । अन्तिम खेलअघिसम्म उपाधि होडमा रहेको अल हिलालभन्दा अल नासर दुई अङ्कले अघि रहँदै च्याम्पियन बनेको हो । गत साता अल हिलालसँग १–१ को बराबरी खेल्दा ब्राजिली गोलरक्षक बेन्तोको इन्जुरी समयमा भएको गल्तीका कारण अल नासरले उपाधि पक्का गर्ने अवसर गुमाएको थियो । त्यसपछि टोलीले एसियाली च्याम्पियन्स प्रतियोगिताको फाइनलमा जापानी क्लब गाम्बा ओसाकासँग घरेलु मैदानमै अप्रत्याशित हार बेहोरेको थियो । तर प्रशिक्षक होर्जे जिससको टोलीले यसपटक भने दमाकविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै उपाधि सुनिश्चित गर्यो । खेलमा साडियो मानेले पहिलो हाफको अन्त्यतिर गोल गर्दै अग्रता दिलाएका थिए । त्यसपछि किङ्स्ले कोमानले दोस्रो हाफ सुरु भएलगत्तै अर्को गोल थपे । रोनाल्डोले थप दुई गोल गर्दै टोलीको जित र उपाधि दुवै पक्का गरे । यो सिजन रोनाल्डोको लिगमा २७औँ र २८औँ गोल थियो । उनले साउदी अरबमा तीन सिजन बिताउने क्रममा अल नासरका लागि एक सयभन्दा बढी गोल गरिसकेका छन् । खेलको अन्त्यतिर भावुक देखिएका रोनाल्डोलाई खेल सकिन तीन मिनेट बाँकी हुँदा मैदानबाट बाहिर निकालिँदा समर्थकले उभिएर सम्मान गरेका थिए । पाँच पटकका बालोन डिओर विजेता रोनाल्डोले अब पोर्चुगल, इङ्ग्ल्यान्ड, स्पेन, इटाली र साउदी अरबमा घरेलु लिग उपाधि जित्ने कीर्तिमान बनाएका छन् । रोनाल्डोले अब सन् २०२६ को विश्वकपमा पोर्चुगलका लागि खेल्नेछन् । यो उनको विश्वकपमा छैटौँ सहभागिता हुनेछ । अल नासरबाट उनले यसअघि जितेको अर्को उपाधि सन् २०२३ को अरब क्लब च्याम्पियन्स कप हो । तर उक्त प्रतियोगिता विश्व फुटबल महासङ्घबाट मान्यता प्राप्त उपाधि भने होइन ।
२०- गुजरात टाइटन्सले जारी आइपिएल अन्तर्गत चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा गुजरातले चेन्नईलाई ८९ रनले पराजित गरेको हो । गुजरातले दिएको २३० रनको लक्ष्य पछाएको चेन्नईले १३.४ ओभरमा अल आउट हुदै १४० रन मात्र बनाएको थियो । चेन्नईका लागि शिभम दुवेले सर्बाधिक ४७ रन बनाए भने माथ्यु शर्टले २४ र कार्तिक शर्माले १९ रन बनाए । त्यस्तै गुजरातका बलर मोहमद सिराज, कागीसो रबाडा र रशिद खानले ३-३ विकेट लिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको गुजरातले २० ओभरमा ४ विकेट गुमाउदै २२९ रन बनाएको थियो । गुजरातका लागि साइ सुदर्शनले सर्बाधिक ८४ रन बनाए भने कप्तान शुभमन गिलले ६४ र जोस बटलरले ५७ रन बनाएका थिए । यो जितपछि गुजरातले लिग चरणका सबै खेल खेल्दै १४ खेलमा १८ अंक हासिल गरेको छ र दोस्रो स्थानमा रहेको छ । गुजरात प्लेअफका लागि छनौट भएको छ र कुन स्थानमा हुन्छ भन्ने अन्य खेलको नतिजापछि तय हुने छ । त्यस्तै चेन्नईको यस सिजनको यात्रा भने समाप्त भएको छ । चेन्नईले १४ खेलमा ६ जित र ८ हारसहित १२ अंक हासिल गरेर यो सिजन समाप्त गरेको छ ।



