स्पेसएक्सद्वारा स्टारसिपको १२ औँ उडान परीक्षण सफलतापूर्वक सम्पन्न

 

अमेरिकी अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्सले आफ्नो विशाल ‘स्टारसिप’ रकेटको १२ औँ उडान परीक्षण सफलतापूर्वक सम्पन्न गरेको छ । अमेरिकाको टेक्ससस्थित कम्पनीको ‘स्टारबेस’ केन्द्रबाट स्थानीय समयअनुसार शुक्रवार साँझ ५ः३० बजे रकेट प्रक्षेपण गरिएको थियो ।

प्रक्षेपणको केही समयपछि स्टारसिपको माथिल्लो भाग ‘सुपर हेभी बुस्टर’ बाट सफलतापूर्वक अलग भएको थियो । कम्पनीकाअनुसार यसपटक बुस्टरलाई मेक्सिकोको खाडीमा अवतरण (स्प्लासडाउन) गर्ने लक्ष्य राखिएको छ । यो उडानमा रकेटको डिजाइनमा व्यापक परिवर्तन गरिएको र यो सो डिजाइनको पहिलो परीक्षण भएकाले बुस्टरलाई पुनः प्रक्षेपणस्थलमै फर्काएर ’क्याच’ गर्ने प्रयास भने नगरिएको स्पेसएक्सले जनाएको छ ।

परीक्षणका क्रममा स्टारसिपले परिमार्जित स्टारलिङ्क उपग्रह र २० वटा सिमुलेटरहरू सफलतापूर्वक अन्तरिक्षमा तैनाथ गरेको छ । यस अभियानमार्फत नयाँ पुस्ताको स्टारसिप अन्तरिक्ष यान र सुपर हेभी बुस्टरको प्रदर्शनका साथै उन्नत ‘राप्टर इन्जिन’ र नयाँ डिजाइन गरिएको प्रक्षेपण प्याडको वास्तविक वातावरणमा मूल्याङ्कन गरिएको छ ।

यसअघि बिहीवारका लागि तय गरिएको प्रक्षेपण प्राविधिक समस्याका कारण स्थगित भएको थियो। स्पेसएक्सका संस्थापक एलन मस्ककाअनुसार प्रक्षेपण टावरको ‘हाइड्रोलिक पिन’ योजनाअनुसार नखुलेका कारण उडान एक दिन ढिलो हुन पुगेको हो ।

स्टारसिपलाई अमेरिकी अन्तरिक्ष निकाय (नासा) को ‘आर्टेमिस’ कार्यक्रमको महत्वपूर्ण हिस्सा मानिएको छ । यस कार्यक्रमको उद्देश्य मानवलाई पुनः चन्द्रमामा अवतरण गराउनु र भविष्यमा मङ्गल ग्रहका लागि मानव मिसनको आधार तयार गर्नु रहेको छ ।

 

 

Nepal life insuranceimagesimagesimages