प्रजाति संरक्षणका लागि कम्बोडियाले स्रेपोक नदीमा छाड्यो १० वटा दुर्लभ ‘सयामी’ गोही

 

विश्वकै दुर्लभ मानिने ‘सयामी’ प्रजातिका गोहीको संख्या वृद्धि र संरक्षण गर्ने उद्देश्यले कम्बोडिया सरकारले १० वटा शुद्ध नश्लका गोहीलाई प्राकृतिक बासस्थानमा छोडेको छ । देशको उत्तर–पूर्वी क्षेत्रमा अवस्थित स्रेपोक वन्यजन्तु आरक्षभित्र पर्ने स्रेपोक नदीमा ती गोहीहरूलाई छाडिएको हो ।

सयामी प्रजातिका गोहीहरू प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय संघको ‘रातो सूची’ मा अति संकटापन्न प्रजातिका रूपमा सूचीकृत छन् । कम्बोडियाका वातावरण मन्त्री इआङ सोफालेथले यस कार्यलाई देशको विशिष्ट जैविक विविधता जोगाउने र लोपोन्मुख वन्यजन्तुको संख्या पुनरुत्थान गर्ने सरकारको निरन्तर प्रतिबद्धताको उपज भएको बताउनु भयो ।

वातावरण मन्त्रालयका प्रवक्ता एवं राज्य सचिव ख्वय अतित्यले आदिवासी जनजाति र स्थानीय समुदाय लगायत विभिन्न सरोकारवालाहरूसँगको परामर्श र सहमतिपछि गोहीहरूलाई नदीमा छोडिएको जानकारी दिनुभयो ।

उहाँकाअनुसार नदीमा छाडिएका १० वटा गोहीमध्ये ९ वटा पोथी र एउटा भाले रहेका छन् । यी गोहीहरूलाई अण्डाबाट कोरलेर हुर्काइएपछि मात्र प्राकृतिक वातावरणमा छाडिएको हो । प्रवक्ता अतित्यले यसलाई एक ‘ऐतिहासिक कोशेढुङ्गा’ संज्ञा दिँदै यी गोहीहरूले प्राकृतिक रूपमै प्रजनन गरी आफ्नो संख्या बढाउने विश्वास व्यक्त गर्नुभयो ।

तथ्याङ्कअनुसार हाल विश्वभर सयामी प्रजातिका गोहीहरूको संख्या १ हजार भन्दा कम रहेको अनुमान छ, जसमध्ये ३०० भन्दा बढी कम्बोडियामा मात्र रहेका छन् ।

 

 

Nepal life insuranceimagesimagesimages