

काठमाडौँ । मार्क जुकरबर्ग नेतृत्वको मेटाले कर्मचारी कटौतीको नयाँ चरण सुरु गरेको छ । कृत्रिम बौद्धिकता क्षेत्रमा अर्बौं डलर लगानी गर्ने योजनाबीच कम्पनीले करिब आठ हजार कर्मचारीलाई इमेल पठाउन थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

सबैभन्दा पहिले सिंगापुरस्थित टोलीका कर्मचारी प्रभावित भएको बताइएको छ । सिंगापुर कार्यालयका कर्मचारीले बिहान चार बजे इमेलमार्फत जागिर गुमाएको सूचना पाएका थिए ।
प्रतिवेदनअनुसार मेटाले आफ्नो कुल जनशक्तिको करिब दस प्रतिशत कटौती गर्ने तयारी गरेको छ । अर्कोतर्फ कम्पनीले कृत्रिम बौद्धिकता क्षेत्रमा ठूलो लगानी बढाउने योजना अघि सारेको छ ।
ब्लुमबर्गको प्रतिवेदनअनुसार मेटाले कर्मचारी कटौतीसम्बन्धी इमेल सिंगापुर समयअनुसार बिहान चार बजे र नेपाली समयअनुसार राति पौने २ बजे पठाएको थियो । केही समयअघिसम्म कम्पनीमा विश्वभर करिब अठहत्तर हजार कर्मचारी कार्यरत थिए । अहिले भने यो संख्या लगातार घटिरहेको छ।

सन् २०२६ मा कर्मचारी कटौती गर्ने विश्वका ठूला प्रविधि कम्पनीहरूले यसको मुख्य कारण कृत्रिम बौद्धिकतालाई बनाइरहेका छन् । गुगल, माइक्रोसफ्ट, अमेजन र ओराकलजस्ता कम्पनीहरूले पनि कृत्रिम बौद्धिकतामा लगानी बढाउने नाममा ठूलो संख्यामा कर्मचारी हटाइसकेका छन् ।
तथ्यांकअनुसार विश्वका प्रमुख प्रविधि कम्पनीहरूले यस वर्षको सुरुआती महिनामै नब्बे हजारभन्दा बढी कर्मचारी हटाइसकेका छन् । प्रतिवेदनमा मेटाले विभिन्न समय क्षेत्रमा रहेका कर्मचारीलाई चरणबद्ध रूपमा इमेल पठाउने उल्लेख गरिएको छ ।

कम्पनीले अमेरिका, बेलायत तथा अन्य देशका कर्मचारीलाई बुधबार घरबाटै काम गर्न निर्देशन दिएको छ । कर्मचारी कटौतीसँगै मेटाले करिब सात हजार कर्मचारीलाई कृत्रिम बौद्धिकतासम्बन्धी टोलीमा स्थानान्तरण गर्ने तयारी गरेको छ । साथै साना टोलीमा व्यवस्थापक पदसमेत घटाइने बताइएको छ । सबैभन्दा बढी असर इन्जिनियरिङ र उत्पादन विकास टोलीमा पर्ने अनुमान गरिएको छ ।
विश्लेषकहरूका अनुसार आगामी केही महिनामा यस्ता थप चरण देखिन सक्ने सम्भावना छ । मेटा अहिले सामान्य कृत्रिम बौद्धिकताबाट ‘एजेन्टिक’ कृत्रिम बौद्धिकतातर्फ अघि बढिरहेको छ । कम्पनीले मानिसको दैनिक जीवनमा उपयोगी हुने स्वचालित कृत्रिम सहायक प्रणाली विकास गर्ने काम गरिरहेको बताइएको छ ।
फाइनान्सियल टाइम्सको हालैको प्रतिवेदनअनुसार मेटा व्यक्तिगत आवश्यकताअनुसार काम गर्ने नयाँ कृत्रिम बौद्धिक सहायक प्रणाली निर्माणमा जुटेको छ । यी प्रणालीले कम्पनीका तीन अर्बभन्दा बढी प्रयोगकर्ताको दैनिक काममा सहयोग गर्ने अपेक्षा गरिएको छ ।



