

पाकिस्तानको दक्षिण–पश्चिमी प्रान्त बलुचिस्तानमा आईतवार बिहान भएको एक शक्तिशाली बम विस्फोटमा परी कम्तीमा २४ जनाको मृत्यु भएको छ भने ८२ जना अन्य घाइते भएका छन् । प्रान्तीय राजधानी क्वेटास्थित रेलवे स्टेशनमा ‘जाफर एक्सप्रेस’ को शटल रेललाई लक्षित गरी उक्त विस्फोट गराइएको प्रहरी स्रोतले जनाएको छ ।

प्राप्त जानकारीअनुसार ईदको बिदा मनाउन घर जान लागेका सुरक्षाकर्मीहरू सवार उक्त रेल क्वेटा क्यान्टोन्मेन्ट स्टेशनबाट प्रस्थान गर्नै लाग्दा स्थानीय समयअनुसार बिहान ८ बजे विष्फोट भएको थियो । विस्फोटको तिब्रताका कारण रेलका केही डिब्बाहरू पटरीबाट खसेका छन् भने दुईवटा डिब्बामा आगलागी समेत भएको छ । सो क्रममा स्टेशन आसपास रहेका अन्य सवारी साधनहरूमा पनि क्षति पुगेको छ ।

हताहत हुनेहरूमा सर्वसाधारण महिला तथा बालबालिका समेत रहेको उद्धारमा खटिएका अधिकारीहरूले जानकारी दिएका छन् । घाइतेमध्ये ५७ जनालाई स्थानीय सैन्य अस्पताल र २५ जनालाई क्वेटास्थित सिभिल अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ । प्रारम्भिक अनुसन्धानका अनुसार यो एक आत्मघाती आक्रमण भएको हुनसक्ने देखिएको छ ।
आक्रमणकारीले ७० किलोग्रामभन्दा बढी विस्फोटक पदार्थ भरिएको सुसाइड भेइकल–बोर्न इम्प्रोभाइज्ड एक्प्लोसिभ डिभाइस प्रयोग गरेको हुनसक्ने सुरक्षा निकायको अनुमान छ । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



