केप टाउन म्याराथनः अफ्रिकी भूमिमा नयाँ कीर्तिमान कायम, किपचोगेको विश्व भ्रमण शुरु

 

दक्षिण अफ्रिकाको केप टाउनमा आईतवार सम्पन्न म्याराथनमा अफ्रिकी भूमिकै अहिलेसम्मको सबैभन्दा द्रुत गतिको दौडको नयाँ कीर्तिमान कायम भएको छ ।

यसै प्रतियोगितामार्फत विश्वप्रख्यात धावक इलिउड किपचोगेले आफ्नो सात महादेशीय विश्व भ्रमणको औपचारिक सुरुवात गरेका छन्, जहाँ उनी १६ औं स्थानमा रहे । अफ्रिकी भूमिमा आयोजना गरिएको यो म्याराथनमा इथियोपियाली धावकहरूको पूर्ण वर्चश्व रह्यो । पुरुष तथा महिला दुवै विधाको पोडियममा इथियोपियाली खेलाडीहरूले कब्जा जमाएका छन् ।

केप टाउन म्याराथनलाई ’एबट वल्र्ड म्याराथन मेजर्स’ शृङ्खलामा समावेश गर्ने प्रयास भइरहेका बेला अनुकूल मौसमका कारण दुवै विधामा पुरानो कीर्तिमान भङ्ग भएको छ । पुरुषतर्फ इथियोपियाका मोहमद एसाले निर्धारित दूरी २ घण्टा ४ मिनेट ५५ सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक जिते । यो समय अफ्रिकी महादेशमा दौडिएको अहिलेसम्मकै तिब्र म्याराथन समय हो।

उनले सन् २०२४ मै कायम भएको २ घण्टा ८ मिनेट १६ सेकेन्डको अघिल्लो कीर्तिमानमा ठूलो सुधार गरेका छन्। प्रतियोगितामा इथियोपियाकै यिहुनिलिन एदाने २ घण्टा ४ मिनेट ५९ सेकेण्डका साथ दोस्रो र केन्याका कालिपुस लोमवाई २ घण्टा ५ मिनेट ६ सेकेण्डका साथ तेस्रो भए । आयोजकका अनुसार पहिलो १० स्थानमा रहेका सबै धावकहरूले पुरानो कीर्तिमानलाई उछिनेका छन् । त्यस्तै, महिलातर्फ इथियोपियाकी डेरा डिडा यामी २ घण्टा २३ मिनेट १८ सेकेन्डका साथ पहिलो भइन् । उनलाई पछ्याउँदै इथियोपियाकै मेस्तावुत फिकिर र वागनेस अमारे क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे । शीर्ष तीनै जनाले पुरानो कोर्स रेकर्ड भङ्ग गर्न सफल भए ।

विश्वका महान् म्याराथन धावक ४१ वर्षीय इलिउड किपचोगेले २ घण्टा १३ मिनेट २९ सेकेन्डमा दौड पूरा गर्दै १६औं स्थान हासिल गरे। किपचोगेले आगामी दुई वर्षभित्र विश्वका सातै महादेशमा म्याराथन पूरा गर्ने लक्ष्यका साथ ‘इलिउड वल्र्ड टुर’ अभियान शुरु गरेका हुन् ।

यस अभियानको मुख्य उद्देश्य मानिसहरूलाई स्वस्थ जीवनशैलीका लागि प्रेरित गर्नु र दौडका माध्यमबाट विश्वलाई जोड्नु रहेको उनको आधिकारिक वेबसाइटमा उल्लेख गरिएको छ । किपचोगेको विश्व भ्रमणको अर्को चरण जुलाई १२ मा ब्राजिलको पोर्टो एलेग्रे म्याराथन र अक्टोबर ११ मा अस्ट्रेलियाको मेलवर्न म्याराथनबाट अघि बढ्नेछ । उत्तर अमेरिका, एसिया, युरोप र अन्टार्कटिकाका दौडहरूको तालिका भने तय हुन बाँकी छ। यसअघि गत नोभेम्बरमा भएको न्यूयोर्क सिटी म्याराथनमा किपचोगे १७औं स्थानमा रहेका थिए ।

 

Nepal life insuranceimagesimagesimages