



काठमाडौँ । बलिउड अभिनेता रणवीर सिंहमाथि फेडेरेसन अफ वेस्टर्न इन्डिया सिने एम्प्लोइजले असहयोग निर्देशन (एक किसिमको प्रतिबन्ध) जारी गरेको छ । अभिनेता तथा निर्देशक फरहान अख्तरको उजुरीपछि यस्तो निर्णय गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

फेडेरेसनले रणवीर सिंहसँग काम नगर्न सदस्यहरूलाई निर्देशन दिएको हो । यो निर्णय चलचित्र डन–३ विवादसँग जोडिएको बताइएको छ । फरहान अख्तरले रणवीर सिंहले चलचित्रको पूर्वतयारी सुरु भइसकेपछि अचानक डन–३ बाट बाहिरिने निर्णय गरेको आरोप लगाएका छन् । उनका अनुसार यसका कारण निर्माण टोलीलाई करिब ४५ करोड भारतीय रुपैयाँ बराबरको नोक्सानी भएको छ ।
फेडेरेसनका अध्यक्ष वीएन तिवारीले रणवीरसँग तीन पटक सम्पर्क गर्ने प्रयास गरिएको तर कुनै जवाफ नआएको बताएका छन् । त्यसपछि रणवीरविरुद्ध असहयोग निर्देशन जारी गरिएको उनले बताए । फेडेरेसनका अनुसार रणवीरलाई २२ अप्रिल, ३० अप्रिल र १३ मे २०२६ मा पत्र पठाइएको थियो । त्यसको जवाफमा रणवीर पक्षले उजुरी समाधानका लागि फेडेरेसन उचित मञ्च नभएको र यो विषय सम्झौतासँग सम्बन्धित भएकाले कानुनी निकाय वा अदालतमा जानुपर्ने बताएको थियो ।

फरहान अख्तरले सन् २०२३ मा रणवीर सिंहलाई लिएर डन–३ निर्माणको घोषणा गरेका थिए । यसअघि सन् २००६ मा शाहरुख खान अभिनित डन र सन् २०११ मा आएको डन–२ प्रदर्शन भएका थिए । चलचित्र घोषणा हुँदा कियारा आडवाणीलाई मुख्य भूमिकामा अनुबन्ध गरिएको थियो । तर गर्भावस्था र सुत्केरी बिदाका कारण उनले चलचित्र छोडेपछि कृति सेननलाई ल्याउने चर्चा चलेको थियो ।
फरहान अख्तरले आफ्नो निर्माण संस्था एक्सेल इन्टरटेनमेन्टमार्फत चलचित्र निर्माण गरिरहेका थिए । उनले डन–३ अगाडि बढाउन आफ्नो अर्को चलचित्र ‘जी ले जरा’ समेत स्थगित गरेका थिए । चलचित्र ढिलो हुँदै जाँदा रणवीर सिंह ‘धुरन्धर’ चलचित्रमा व्यस्त बनेका थिए । सन् २०२५ मा ‘डन–३’ को छायांकन सुरु हुने चर्चा भए पनि त्यसपछि रणवीरले अचानक चलचित्र छोडेको खबर आएको थियो । निर्माण पक्षले रणवीरले पटकथामा हस्तक्षेप गरेको आरोप लगाएको छ । उनी अश्लील संवाद र हिंसात्मक दृश्य थप्न दबाब दिइरहेका थिए तर निर्माण टोली त्यसमा सहमत नभएको जनाइएको छ ।
भारतीय सञ्चारमाध्यम मिड डेका अनुसार रणवीरले चलचित्र छोडेर हस्ताक्षर रकम फिर्ता गर्ने तयारी गरेका छन् । तर निर्माण पक्षले पूर्वतयारी, छायांकन तालिका परिवर्तन र पटकथा पुनःलेखनमा ठूलो रकम खर्च गरिसकेको थियो । त्यसपछि फरहान अख्तरले प्रोड्युसर्स गिल्डमा उजुरी गर्दै ४५ करोड रुपैयाँ क्षतिपूर्ति माग गरेका थिए । उनले पूर्वतयारी र छायांकन तालिकामा गरिएको परिवर्तनका कारण ठूलो आर्थिक क्षति भएको बताएका छन् ।
यस विवादमा अभिनेता आमिर खानले पनि मेलमिलाप गराउने प्रयास गरेका थिए । प्रोड्युसर्स गिल्डले दुवै पक्षलाई सहमतिका लागि समय दिएको भए पनि समाधान निस्कन सकेन । रणवीर सिंहका प्रवक्ताले भने अभिनेता रणवीर सिंहले चलचित्र उद्योग र ‘डन’ शृंखलासँग जोडिएका सबै व्यक्तिप्रति सम्मान राख्ने बताएका छन् ।

उनले ‘डन–३’ विवादबारे रणवीरले सोचेर मौन बस्ने निर्णय गरेको र काम तथा सम्बन्धलाई सधैँ सम्मान र समझदारीका साथ अघि बढाउनुपर्ने विश्वास राख्ने बताएका छन् ।
फेडेरेसन अफ वेस्टर्न इन्डिया सिने एम्प्लोइज भारतीय चलचित्र उद्योगका कामदार र कलाकारको अधिकार संरक्षण गर्ने सबैभन्दा ठूलो संस्था मानिन्छ । यसको स्थापना सन् १९५६ मा भएको थियो भने सन् १९५८ मा दर्ता गरिएको थियो । यसअन्तर्गत ३४ वटा विभिन्न सङ्घ आबद्ध छन् । अभिनेता, निर्देशक, निर्माता, प्राविधिक, क्यामेराकर्मी, कनिष्ठ कलाकार र स्पटब्वायसहित करिब ४ देखि ५ लाख सदस्य यसमा आबद्ध रहेको बताइएको छ । भारतीय चलचित्र उद्योगमा काम गर्ने झन्डै ९० प्रतिशत व्यक्ति यही फेडेरेसनसँग आबद्ध सङ्घका सदस्य छन् ।
फेडेरेसनले कुनै परियोजनामा काम नगर्न निर्देशन दिए छायांकन नै रोकिन सक्ने अवस्था हुन्छ । यसअघि निर्माता फिरोज नाडियाडवालाले प्राविधिक टोलीलाई रकम नदिएको विवादमा पनि फेडेरेसनले काम रोक्ने निर्देशन दिएको थियो । त्यसपछि बक्यौता रकम तिर्न बाध्य बनाइएको थियो ।
रणवीरमाथिको असहयोग निर्देशनले उनका आगामी चलचित्रमा असर पर्ने देखिएको छ । उनका आगामी परियोजनामा ‘किङ’मा विशेष भूमिका, निर्देशक आदित्य धरको नयाँ चलचित्र, कियारा आडवाणीसँगको अर्को चलचित्र र सञ्जय लीला भन्सालीको ‘बैजू बावरा’ रहेका छन् ।
यी चलचित्रमा काम गर्ने अधिकांश प्राविधिक र कनिष्ठ कलाकार फेडेरेसनसँग आबद्ध भएकाले छायांकन प्रभावित हुन सक्ने बताइएको छ । निर्माताहरूले रणवीरसँग नयाँ चलचित्र सुरु गर्नुअघि फेडेरेसनबाट ‘नो अब्जेक्सन’ प्रमाणपत्र लिनुपर्ने अवस्था आउन सक्ने भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।



