

भियतनामका राष्ट्रपति टो लामले क्षेत्रीय शान्ति, स्थिरता र विकासका लागि दक्षिणपूर्वी एशियाली राष्ट्रहरूको सङ्गठन (आसियान) को केन्द्रिय भुमिका अपरिहार्य रहेको बताउनुभएको छ । सिङ्गापुरमा आयोजित ‘साङ्ग्रिला संवाद २०२६’ लाई सम्बोधन गर्दै राष्ट्रपति लामले बढ्दो भू–राजनीतिक प्रतिष्पर्धाका बीच क्षेत्रीय एकता, संवाद र रणनीतिक स्वायत्तता कायम राख्न आह्वान गर्नुभयो ।

आफ्नो मुख्य सम्बोधनका क्रममा राष्ट्रपति लामले एशिया–प्रशान्त क्षेत्रको साझा हित शान्ति, कनेक्टिभिटी र विकासमा निहित रहेको उल्लेख गर्दै यस क्षेत्रसँग बहुआयामिक सहयोगको गहिरो अनुभव रहेको बताउनु भयो ।

प्रतिष्पर्धालाई द्वन्द्वमा परिणत हुन नदिन र आपसी सम्बन्धका पाटाहरूलाई विभाजनको रेखा बन्न नदिन आसियान दृढ संकल्पित रहेको उहाँको भनाइ थियो । राष्ट्रपति लामले एक राष्ट्रको सुरक्षा अर्को राष्ट्रका लागि असुरक्षाको कारण बन्न नहुने धारणा समेत व्यक्त गर्नुभयो ।

आसियानको केन्द्रीयता स्वतः प्राप्त हुने वा सधैँका लागि स्थिर रहने विषय नभएको उल्लेख गर्दै उहाँले यसलाई एकता, रणनीतिक स्वायत्तता र साझा एजेन्डा तय गर्ने क्षमतामार्फत मात्र संरक्षण गर्न सकिनेमा जोड दिनुभयो । यसका साथै, अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्ने, आसियानको केन्द्रीयतालाई समर्थन गर्ने र क्षेत्रीय तनाव कम गर्न योगदान पु¥याउने पारदर्शी एवं जिम्मेवार संलग्नतालाई यो क्षेत्रले सदैव स्वागत गर्ने उहाँले स्पष्ट पार्नुभयो ।



