

सञ्जय मिश्रा
उत्तर प्रदेश (भारत) १७ जेठ । भारतको उत्तर प्रदेशस्थित गाजियाबादको खोडा क्षेत्रमा ईदका दिन भोज खान बोलाएर आफ्नै साथीको हत्या गरेको आरोप लागेका असद प्रहरी मुठभेडमा मारिएका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार गाजियाबाद प्रहरीले शनिबार राति इन्दिरापुरमको अभयखण्ड क्षेत्रमा गरेको कारबाहीका क्रममा असद मारिएका हुन्। मुठभेडमा एक जना प्रहरी जवान पनि घाइते भएका छन्। उनको अस्पतालमा उपचार भइरहेको बताइएको छ।

प्रहरीका अनुसार खोडा क्षेत्रका बासिन्दा असद ११ कक्षामा अध्ययनरत सूर्या चौहानको हत्या गरेपछि फरार थिए। उनको खोजीका लागि प्रहरीका विभिन्न टोली परिचालन गरिएको थियो भने पक्राउका लागि ५० हजार भारतीय रुपैयाँ पुरस्कारसमेत घोषणा गरिएको थियो।

आइतबार बिहान सबेरै असद आफ्ना केही साथीहरूसँग रकम लिन खोडा आउने सूचना प्राप्त भएपछि प्रहरीले इन्दिरापुरम र खोडा क्षेत्रका प्रवेश नाकामा निगरानी तथा सवारी जाँच तीव्र बनाएको थियो।
डीसीपी धवल जायसवालका अनुसार जाँचका क्रममा मोटरसाइकलमा सवार दुई युवकलाई रोक्न खोज्दा उनीहरूले भाग्ने प्रयास गरेका थिए। प्रहरीले नियन्त्रणमा लिन खोजेपछि उनीहरूले प्रहरीमाथि गोली प्रहार गरेका थिए।
जवाफमा प्रहरीले पनि गोली चलाउँदा एक जना युवक घाइते भएका थिए। उनलाई अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। पछि उनको पहिचान सूर्या चौहान हत्या प्रकरणका मुख्य आरोपित असदका रूपमा भएको प्रहरीले जनाएको छ।

घटनास्थलबाट एउटा अवैध हतियार र मोटरसाइकल बरामद गरिएको छ। असदका एक सहयोगी भने अँध्यारोको फाइदा उठाउँदै फरार भएका छन्।

प्रहरीले सूर्या चौहान हत्या प्रकरणमा संलग्न अन्य तीन जनालाई यसअघि नै पक्राउ गरिसकेको जनाएको छ। फरार रहेका अन्य आरोपीको खोजी तथा पक्राउ अभियान जारी रहेको बताइएको छ।

गत मे २८ मा ईदको अवसरमा असदले साथी सूर्या चौहानलाई भोज खानका लागि बोलाएको आरोप छ। मृतकका परिवारजनका अनुसार घटनास्थलमा असदसहित अन्य केही युवक उपस्थित थिए। असदले तिमीले खसीको कुर्बानी अर्थात काटेको देखेका छौ भनेर सोध्दा उनले देखेको छैन भनी जवाफ दिएको उनको आफन्तले बताएका छन्। लगत्तै त्यहाँ सामान्य विवादपछि असदले धारिलो हतियार प्रहार गरी सूर्यामाथि आक्रमण गरेका थिए। गम्भीर घाइते भएका सूर्या भाग्ने प्रयास गरे पनि पुनः समातेर आक्रमण गरिएको र घटनास्थलमै उनको मृत्यु भएको परिवारको दाबी छ।
घटनापछि सबै आरोपी फरार भएका थिए। हत्या घटनाप्रति स्थानीय स्तरमा व्यापक आक्रोश देखिएको थियो भने पीडित परिवारले दोषीमाथि कडा कारबाहीको माग गरेको थियो।



