

पूर्वी प्रशान्त महासागरमा लागुऔषध तस्करीमा संलग्न रहेको आशङ्का गरिएको एक डुङ्गामाथि अमेरिकी सेनाले गरेको कारबाहीमा तीन जनाको मृत्यु भएको छ । अमेरिकी सेनाको सदर्न कमाण्डले शनिबार सामाजिक सञ्जाल एक्समार्फत उक्त कारबाहीबारे जानकारी दिएको हो ।

उक्त डुङ्गा पूर्वी प्रशान्त क्षेत्रका परिचित लागुऔषध तस्करी मार्गहरूमा सञ्चालन भइरहेको र तस्करीका गतिविधिमा संलग्न रहेको कुरा गुप्तचर निकायको सूचनाबाट पुष्टि भएको थियो । यस सैन्य कारबाहीमा तीन जना पुरुष लागुऔषध–आतङ्ककारी मारिएका छन् । उक्त कारबाहीका क्रममा अमेरिकी सैन्य बलतर्फ भने कुनै पनि क्षति नभएको कमाण्डले स्पष्ट पारेको छ ।

सेप्टेम्बर महिनाको शुरुदेखि अमेरिकी सेनाले शङ्कास्पद लागुऔषध तस्करहरूका डुङ्गामाथि दर्जनौँ घातक हवाई आक्रमणहरू गरिसकेको छ । यस्ता विभिन्न सैन्य कारबाहीहरूमा हालसम्म कुल २०० भन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ ।



