अर्घाखाँचीमा घर–घरमै पुगेर पशु खोप अभियान, खोरेतदेखि लम्पी स्किनसम्मका रोगविरुद्ध खोप लगाइयो

 

-विनोद भुसाल , अर्घाखाँची डटकम

अर्घाखाँची । लुम्बिनी प्रदेश सरकार, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय अन्तर्गत पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, बुटवलको कार्यक्रम अनुसार अर्घाखाँची जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको समन्वयमा सन्धिखर्क नगरपालिका क्षेत्रमा पशु खोप अभियान सञ्चालन गरिएको छ।

अभियान अन्तर्गत प्राविधिक टोली किसानका घर–घरमा पुगेर गाई, भैँसी, बाख्रा, भेडा तथा बंगुरमा विभिन्न संक्रामक रोगविरुद्ध खोप लगाउने कार्य गरिरहेको छ। पशुधनलाई रोगबाट सुरक्षित राख्दै पशुपालन व्यवसायको संरक्षण तथा उत्पादन वृद्धि गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको जनाइएको छ।

खोप कार्यक्रममार्फत खोरेत, लम्पी स्किन, भ्यागुते–चरचरे, स्वाइन फिभर तथा पि.पि.आर. लगायतका संक्रामक रोगविरुद्ध आवश्यक खोप लगाइएको छ। पशुमा फैलिने यस्ता रोगका कारण किसानले ठूलो आर्थिक क्षति व्यहोर्नुपर्ने भएकाले समयमै खोप लगाउनु प्रभावकारी उपाय मानिन्छ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार पशुधनको स्वास्थ्य सुरक्षाका लागि नियमित खोप कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाइएको छ। पशु रोग नियन्त्रण र उत्पादन वृद्धि मार्फत किसानको आयआर्जन बढाउन यस्ता कार्यक्रम महत्वपूर्ण हुने विश्वास लिइएको छ।

स्थानीय किसानहरूले घरदैलोमै पुगेर खोप सेवा उपलब्ध गराइएकोमा खुसी व्यक्त गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका छन्।

“स्वस्थ पशु, समृद्ध किसान” भन्ने नारासहित सञ्चालन गरिएको अभियानले जिल्लामा पशुपालन व्यवसायलाई थप सुरक्षित र व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

#PashuKhopAbhiyan #VeterinaryService #LivestockHealth #LumpySkinDisease #FMD #PPR #SwineFever #KrishiNews #FarmersNepal #Sandhikharka #ArghakhanchiNews #Arghakhanchicom #Arghakhanchidotcom #ArghakhanchicomHD

 

Nepal life insuranceimagesimagesimages

अन्य समाचारहरु