प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति राष्ट्रहित, राष्ट्रिय स्वाभिमान र राष्ट्रिय सुरक्षा विपरितः काँग्रेस

 

नेपाली काँग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको सीमासम्बन्धी अभिव्यक्तिप्रति आपत्ति जनाउँदै नेपालले भारतको कुन–कुन भूभाग मिचेको हो ? भन्नेबारे संसदमा स्पष्ट जवाफ दिन माग गरेको छ ।
प्रतिनिधि सभाको सोमवार बैठकमा बोल्दै प्रमुख सचेतक निश्कल राईले यस्तो माग गर्नुभएको हो ।

उहाँले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिले तीन करोड नेपालीको शीर निहुरिएको बताउनु भयो । उहाँले प्रधानमन्त्री शाहले दिएको सीमासम्बन्धी अभिव्यक्ति राष्ट्रहित, राष्ट्रिय स्वाभिमान र राष्ट्रिय सुरक्षाविपरित रहेको टिप्पणी गर्नुभयो । उहाँले प्रधानमन्त्रीले संसदमै उभिएर नेपालले भारतको कुन कुन भूभाग मिचेको हो ? भन्ने कुरा राख्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सम्माननीय प्रधामनमन्त्रीज्यूले छाति चौडा बनाउँदै बोलेको विषयले मलाई मात्र होइन करिब तीन करोड नेपाली नागरिकको शीर निहुराएको हुनुपर्छ ।

रोष्ट्रमा उभिएर प्रधानमन्त्रीज्यूले भन्नुभयो, नेपाले पनि भारतको जग्गा मिचेको छ । यो संसदमा रेकर्ड भएको छ । र यो एउटा नजिरको रुपमा स्थापित भएको छ । जसमा बडो गर्वका साथ सत्तापक्षका माननीयज्यूहरुले ताली पड्काउनुभयो । अलिकति आत्मग्लानी उहाँहरुलाई पनि हुनुपर्छ । सार्वभौम संसदको रोष्ट्रममा उभिएर उहाँले बोलेको विषयमा हाम्रो नोट अफ डिसेन्ट छ । उहाँ फेरी संसदको रोष्ट्रममा उभिनुपर्छ र भन्नुपर्छ कहाँ कहाँ नेपालले भारतको जग्गा मिच्यो एक एक इन्चको हिसाब हामीलाई दिनुपर्छ सभामुख महोदय । हामीलाई हिसाब चाहिन्छ । यो हाम्रो स्वाभिमानको विषय हो, राष्ट्रिय सुरक्षाको विषय हो । भोलि भारतले हाम्रो जग्गा फिर्ता चाहिन्छ भन्यो भने हामीले कुन जग्गा फिर्ता दिने ? रोष्ट्रममा प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्ति चरम अपरिपक्व र राष्ट्रहित विपरित छ । यसले सीमाको विषयमा हामीले भन्दै आएको दाबीलाई समेत कमजोर बनाउँछ ।

नेपाल पनि सीमा आक्रमणकारी हो भन्ने भाष्य विश्वमा स्थापित पारेको छ ।’

उहाँले प्रधानमन्त्री शाहको उक्त अभिव्यक्तिले नेपाल पनि सीमा आक्रमणकारी हो भन्ने भाष्य विश्वमा स्थापित गरेको भन्दै प्रधानमन्त्रीले माफी मागेर आफ्नो अभिव्यक्ति फिर्ता नलिएसम्म संसद चल्न नसक्ने समेत बताउनु भयो ।

 

 

Nepal life insuranceimagesimagesimages