रवि लामिछाने पुगे दिल्ली, दिल्ली विमानस्थलमा रास्वपा सभापति लामिछानेको भाजपा नेताद्वारा स्वागत

 

काठमाडौं । पाँच दिने औपचारिक भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई दिल्लीमा भव्य स्वागत गरिएको छ। भारतीय जनता पार्टी (भाजपा) को विशेष निमन्त्रणामा दिल्ली पुगेका लामिछानेलाई विमानस्थलमै ओर्लिएर भाजपाका शीर्ष नेताहरूले स्वागत गरेका हुन्।

दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा रास्वपा सभापति लामिछानेलाई भाजपाका राष्ट्रिय महासचिव अरुण सिंह र विदेश विभाग प्रमुख विजय चौथाईवालेले स्वागत गरेका छन्। भारतीय सत्तारुढ दलका उच्च नेताहरू विमानस्थलमै पुगेर स्वागत गर्नुलाई राजनीतिक वृत्तमा महत्त्वका साथ हेरिएको छ।

Single Image

रास्वपा प्रवक्ता मनिष झाका अनुसार सभापति लामिछाने जेठ १८ देखि २२ गतेसम्म भारत भ्रमणमा रहनेछन्। भ्रमणका क्रममा उनले नयाँ दिल्लीमा भाजपाको उच्च नेतृत्व, भारतीय सरकारका प्रतिनिधि तथा कूटनीतिक व्यक्तित्वहरूसँग द्विपक्षीय हितका विविध विषयमा उच्चस्तरीय छलफल गर्ने कार्यतालिका छ।

Single Image

यसका साथै, लामिछानेले भारतमा रहेका प्रवासी नेपाली समुदाय र पार्टीका शुभेच्छुकहरूसँग भेटघाट तथा अन्तर्क्रिया गर्नेछन्। दिल्लीको राजनीतिक भेटघाट सकिएपछि उनले उत्तर प्रदेशस्थित धार्मिकस्थल अयोध्याको भ्रमण समेत गर्ने कार्यक्रम रहेको छ।

भ्रमण टोलीमा सभापति लामिछानेसँगै रास्वपाका सहमहामन्त्री एवं प्रतिनिधि सभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य एवं प्रतिनिधि सभा सदस्य दीपक बोहोरा, उनकी पत्नी निकिता पौडेल र नेता प्रदीप आचार्य रहेका छन्। यो भ्रमणका क्रममा हुने सम्पूर्ण भेटघाट र दलगत छलफलको आवश्यक समन्वय नयाँ दिल्लीस्थित नेपाली दूतावासले गरिरहेको रास्वपाले जनाएको छ।

 

 

Nepal life insuranceimagesimagesimages