

काठमाडौं । अमेरिकी अन्तरिक्ष कम्पनी ब्लु ओरिजिनको ‘न्यु ग्लेन’ रकेट परीक्षणका क्रममा भएको शक्तिशाली विस्फोटपछि नासाको महत्वाकांक्षी चन्द्रमा अभियान प्रभावित हुन सक्ने चिन्ता बढेको छ। दुर्घटनाबाट क्षतिग्रस्त प्रक्षेपणस्थल पूर्ण रूपमा सञ्चालनमा आउन सन् २०२८ सम्म लाग्न सक्ने अनुमान गरिएको छ।
गत बिहीबार अमेरिकाको फ्लोरिडास्थित केप क्यानाभेरल अन्तरिक्ष केन्द्रमा ‘न्यु ग्लेन’ रकेटको स्थिर इन्जिन परीक्षणका क्रममा विस्फोट भएको थियो। दुर्घटनाले प्रक्षेपणस्थलमा ठूलो क्षति पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

‘न्यु ग्लेन’ ब्लु ओरिजिनको ठूलो क्षमताको रकेट परियोजना हो, जसलाई व्यावसायिक उपग्रह प्रक्षेपण, चन्द्र अभियान तथा गहिरो अन्तरिक्ष अनुसन्धानका लागि प्रयोग गर्ने लक्ष्य राखिएको छ। हाल यो रकेट प्रक्षेपणका लागि प्रयोग हुने कम्पनीको एकमात्र सक्रिय प्रक्षेपणस्थल भएकाले दुर्घटनाले आगामी अन्तरिक्ष योजनामा प्रत्यक्ष असर पार्ने देखिएको छ।


नासाका प्रशासक जारेड आइज्याकम्यानले क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र मर्मत कार्य जटिल हुने बताउँदै पूर्ण रूपमा पुनः सञ्चालनमा ल्याउन सन् २०२८ सम्म लाग्न सक्ने संकेत गर्नुभएको छ।
हाल दुर्घटनाको कारणबारे प्राविधिक अनुसन्धान भइरहेको छ। साथै क्षतिको मूल्याङ्कन, संरचनाको सरसफाइ तथा पुनर्निर्माणको तयारी पनि अघि बढाइएको छ।
विज्ञहरूका अनुसार यस दुर्घटनाले नासाको चन्द्रमा केन्द्रित ‘आर्टेमिस’ अभियानको समयतालिकामा समेत असर पार्न सक्ने सम्भावना रहेको छ। दुर्घटनाको वास्तविक कारण र यसको दीर्घकालीन प्रभावबारे अध्ययन जारी रहेको बताइएको छ।
#BlueOrigin #NASA #NewGlenn #ArtemisMission #SpaceNews #RocketExplosion #MoonMission #ScienceNews #TechnologyNews #Arghakhanchicom #Arghakhanchidotcom #ArghakhanchicomHD



