

संयुक्त राज्य अमेरिका र इरानबीच सम्भावित सम्झौताको अपेक्षासँगै विश्व बजारमा कच्चा तेलको मूल्यमा केही गिरावट आएपछि टर्कीमा इन्धनको मूल्य घटाइएको छ । टर्की सरकारले मंगलवार मध्यरातदेखि लागू हुनेगरी पेट्रोल र डिजेलको मूल्यमा कटौती गरेको हो ।

पेट्रोलको मूल्यमा प्रतिलिटर १.३८ लिरा (०.०३० अमेरिकी डलर) र डिजेलको मूल्यमा प्रतिलिटर १.८१ लिराले कमी आएको छ । विश्वव्यापी इन्धनको मानक मानिने ‘ब्रेन्ट क्रुड’ को मूल्य प्रति ब्यारेल करिब ९४.४० डलरमा झरेको छ । अमेरिका र इरानबीचको शान्ति वार्तालाई लिएर लगानीकर्ताहरूमा छाएको अन्योलका बीच तेलको यो मूल्य पछिल्लो दुई हप्तायताकै न्युन बिन्दु हो ।

गत फेब्रुअरीको अन्त्यतिर द्वन्द्व शुरु भएयता उत्पन्न भू–राजनीतिक तनाव र इन्धनको मूल्यमा आएको उतारचढावलाई मध्यनजर गर्दै टर्कीले मार्च महिनाको शुरुमा ‘स्लाइडिङ–स्केल’ कर प्रणाली लागू गरेको थियो । यो अस्थायी व्यवस्थाले उपभोक्ताहरूलाई केही राहत प्रदान गरे तापनि ऊर्जाको उच्च लागतका कारण देशमा मुद्रास्फीतिको चाप भने कायमै छ ।
हाल टर्कीमा वार्षिक मुद्रास्फीति दर ३२ प्रतिशतभन्दा माथि रहेको छ । बढ्दो भू–राजनीतिक अनिश्चितताका कारण केन्द्रिय बैंकले मे महिनामा आफ्नो वर्ष–अन्तको मुद्रास्फीति लक्ष्यलाई समेत परिमार्जन गरेको थियो ।
मध्यपूर्वको संकट र विश्व बजारमा आएको परिवर्तनका कारण इन्धनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ । हालै गरिएको मूल्य कटौतीका बाबजुद टर्कीमा पेट्रोल र डिजेलको मूल्य अझै पनि उच्च स्तरमै रहेको छ ।



