पार्टी पुनर्गठन गर्ने एमालेको तयारी

 

नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले गत वर्षको फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले सोचेअनुरूप परिणाम प्राप्त गर्न नसकेको स्वीकार गर्दै सांगठनिक पुनर्गठनको प्रक्रिया अघि बढाइने बताउनुभएको छ ।
निर्वाचनमा व्यहोरेको पराजयलाई ‘गम्भीर धक्का’ का रूपमा चित्रण गर्दै उहाँले यसलाई अस्थायी असफलतामा सिमित राखेर पार्टीलाई नयाँ ढंगले अगाडि बढाउने उद्घोष गर्नुभएको हो ।

पार्टीको पछिल्लो बैठकका निर्णयहरूबारे जानकारी दिँदै उपाध्यक्ष पौडेलले निर्वाचनमा प्राप्त परिणामका आन्तरिक र वाह्य कारणहरूको गम्भीर समीक्षा भइरहेको बताउनु भयो । उपाध्यक्ष पौडेलले पार्टी हालको अवस्था र कार्यशैलीबाट मात्र अगाडि बढ्न नसक्ने निष्कर्षमा पुगेको जानकारी दिनुभयो । सचिवालयको पछिल्लो बैठकले पार्टीको सांगठनिक जीवनलाई पुनर्गठित गर्ने निर्णय गरेको उल्लेख गर्दै उहाँले त्यसका लागि आवश्यक गृहकार्य शुरु भइसकेको बताउनु भयो ।

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको सचिवालय बैठकले निर्वाचनको विस्तृत समीक्षा गर्न र पार्टी पुनर्गठनसम्बन्धी ठोस प्रश्ताव तयार पार्न एक कार्यदल समेत गठन गरेको छ । उक्त कार्यदलले तयार पार्ने प्रतिवेदन र प्रस्तावका आधारमा एमालेले आगामी रणनीति तय गर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘अहिले प्रश्न खडा भएको छ । जनताबाट अनुमोदित भएका नेता–कार्यकर्ताको पार्टीको प्रश्न हामीले यसलाई थ्योराइज गरेका छौँ । तर अहिले हामी यो निर्वाचनमा गम्भीर धक्का खाएका छौँ । यो समस्यालाई हामी कसरी सम्बोधन गर्छौं त भन्ने प्रश्न पनि हाम्रा सामु उपस्थित भएको छ । प्रतिष्पर्धामा श्रेष्ठता आर्जन गर्ने नेता–कार्यकर्ताको पार्टी । यसरी यस्ता विषयहरूलाई हामीले पार्टी निर्माणका सन्दर्भमा संस्थागत गरेका छौँ । म कमरेडहरूसँग के राख्न चाहन्छु भने, अहिले हामीले जुन प्रकारको धक्का व्यहोरेका छौं । असफलता व्यहोरेका छौं, अघि पनि मैले भनेँ, यो असफलता र धक्कालाई हामी अस्थायी धक्काका रूपमा लिएर स्थायी सफलतामा परिणत गर्न चाहन्छौँ । हो, त्यसै भएर हामीले विगतमा निर्वाचनपछिको परिस्थिति जस्तो परिस्थिति हामीसँग उपलब्ध थियो, त्यो परिस्थितिलाई सदुपयोग गर्दै वास्तवमा पार्टीका केही गम्भीर बैठकहरू बसेका छौँ । यसबीचमा सचिवालयका बैठकहरू बसेका छन् । सचिवालयको पछिल्लो बैठकको अध्यक्षता स्वयम् अध्यक्ष कमरेडले गर्नुभएको छ । र त्यो सचिवालयको बैठकबाट केही महत्वपूर्ण निष्कर्षहरू तथा महत्वपूर्ण प्रश्तावनाहरूलाई हामीले अघि सारेका छौँ । अघि अध्यक्ष कमरेडले पछि राख्नु नै हुनेछ कि हामीले खासगरी यो निर्वाचनमा किन धक्का व्यहोर्नुप¥यो, यसका कारणहरूमा हामी जान चाहेका छौँ । पराजयका कारणहरूमा आन्तरिक कारण के रहे, वाह्य कारण के रहे, देशभित्रका र बाहिरका कारण के रहे, पार्टीभित्रका कारण के रहे—यी सबै कुराको हामी समग्र रूपमा समीक्षा गर्नेछौँ । यसबाट हामी यथोचित ढंगले शिक्षा लिनेछौँ । हाम्रो पार्टी अहिले जस्तो छ, हामी जसरी काम गर्दैछौं, यही रूपमा र यस्तै ढंगले अगाडि बढ्न सक्दैन भन्ने निष्कर्षका साथ हामीले पार्टीको संगठनात्मक जीवनलाई पनि पुनर्गठन गर्नेछौं भन्ने निष्कर्ष सचिवालयको बैठकबाट निकालेका छौँ । त्यो सचिवालयको बैठकले निर्वाचनको समीक्षा गर्ने, समीक्षा प्रश्ताव तयार गर्ने तथा पार्टीको पुनर्गठन सम्बन्धी प्रश्ताव तयार गर्ने प्रयोजनका लागि एउटा कार्यदल निर्माण गरेको छ भन्ने मलाई लाग्छ ।’

उपाध्यक्ष पौडेलले निर्वाचनको धक्कालाई शक्तिमा बदल्न र पार्टीलाई जनताको विश्वासिलो शक्तिका रूपमा पुनस्र्थापित गर्न सांगठनिक सुदृढीकरण अपरिहार्य रहेकोमा जोड दिनुभयो ।

 

Nepal life insuranceimagesimagesimages