

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा प्रधानमन्त्रीले दिएको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यसलाई ‘राष्ट्रघाती’ र ‘देशद्रोही’ को संज्ञा दिनुभएको छ ।
प्रधानमन्त्रीले संसदमा बिना कुनै पूर्वकार्यतालिका उपस्थित भई नेपालले भारतको सीमा मिचेको भनी दिएको बयानप्रति ओलीले असन्तुष्टि व्यक्त गर्नुभएको हो ।

प्रधानमन्त्रीको सदनमा आकस्मिक उपस्थितिलाई लिएर टिप्पणी गर्दै प्रधानमन्त्री बालेन्द्र साहले संसदको रोष्टमबाट नेपालले भारतको धेरै ठाउँमा सीमाना मिचेको छ भन्नुभएको र यो पूर्णतः असत्य, झुट र राष्ट्रघाती वचन भएको बताउनु भयो । नेपालले भारतको एक इन्च जमिन पनि नमिचेको स्पष्ट पार्नुभयो ।
उहाँले यस्तो गम्भीर र भ्रामक कुरा प्रधानमन्त्री जस्तो जिम्मेवार ओहोदामा बसेको व्यक्तिले बोल्नु देशको अहितमा रहेको जिकिर गर्नुभयो । अध्यक्ष ओलीले द्विपक्षीय सीमा समस्या समाधानका लागि तेस्रो मुलुक (बेलायत) लाई संलग्न गराउने प्रधानमन्त्रीको प्रश्तावलाई समेत अदूरदर्शी र अकुटनीतिक कदमको रूपमा व्याख्या गर्नुभयो । नेपालको परराष्ट्र नीति र राष्ट्रिय हितका विषयहरू कुनै व्यक्तिको निजी सम्पती नभएको उल्लेख गर्दै ओलीले स्थापित नीतिहरूलाई भवितव्यले पदमा पुगेका व्यक्तिले मनलाग्दी ढंगले चलाउन नमिल्ने चेतावनी दिनुभयो ।

सभामुखको भुमिकाप्रति पनि प्रश्न उठाउँदै ओलीले प्रधानमन्त्रीले राष्ट्रघाती कुरा गर्दा रोक्न नसक्ने तर राष्ट्रियताको पक्षमा आवाज उठाउने सांसदहरूमाथि कारबाहीको तयारी गर्नु न्यायोचित नभएको बताउनु भयो । नेकपा एमालेका सांसदहरूले राष्ट्रियता, लोकतन्त्र र सुशासनका लागि आवाज उठाएको भन्दै उहाँले आफ्ना सांसदहरूको बचाउ गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘ प्रधानमन्त्री अचानक संसदमा झुल्किनुभयो । टपक्क । प्रधानमन्त्रीले सभामुखलाई सूचना गर्छु र बोल्छु भन्नुभयो । टेबुल ठ्याप्प पारेर, हात उठाएर तमासा देखाउनुभयो। के हो भनेर सभामुख छक्क परेर सोध्दा, म बोल्छु भन्नुभयो । प्रधानमन्त्रीले बोल्छु भनेपछि रोस्ट्रममा जान दिनुप¥यो । गएपछि प्रश्नोत्तर, प्रश्नोत्तर भन्नुहुन्थ्यो माननीय सांसदहरू। उहाँले लौ त गरौँ, म तयारै छु भन्नुभयो। प्रश्न त अचानक माननीयहरूले सोध्न थाल्नुभयो। उहाँ त तयारै छु भनेर आउनुभएको थियो । उहाँले देशद्रोही कुरा गर्नुभयो, नेपालले भारतका धेरै ठाउँमा सीमा मिचेको छ भनेर । धेरै ठाउँमा त परको कुरा, एक ठाउँमा पनि, एक इन्च पनि भारतको जमिन नेपालले मिचेको छैन । सम्पूर्ण रूपमा असत्य, झुट र राष्ट्रघाती वचन प्रधानमन्त्रीले संसदको रोस्ट्रमबाट बोल्नु हुँदैनथ्यो, तर त्यहीँ बोल्ने काम भयो ।
कसको हितका लागि ? कसको पक्षम ा? नेपालको अहितमा, नेपालको विपक्षमा यत्रो देशद्रोही कुरा गर्दा यो कसको पक्षमा, केका लागि बोलियो ? प्रधानमन्त्री त्यस दिन न कार्यक्रमअनुसार आउनुभएको थियो, न प्रश्नोत्तर, न नियमावलीअनुसारको कुनै प्रक्रिया। अचानक गएर के सन्देश दिन खोजिएको थियो ? कसलाई सुनाउन खोजिएको थियो? नेपाली जनतालाई हेप्न त योभन्दा बढी ठाउँ नै हुँदैन । तैपनि कतिपय मान्छेहरूलाई देखेर अचम्म लाग्छ। अस्ति नै एमालेलाई मासुभात भन्थे। मासुभात मात्र होइन, भात मात्रै होइन, उनीहरू त समर्थन गरेर कुदेका छन् अहिले पनि । यस्तो देशद्रोही कुराको समर्थन गरेर हिँड्ने मान्छे भातबाहेक के हुन्छ ? भात । यस्तो कुरामा पनि कतिपय मान्छेहरू समर्थन गरेर हिँडेका छन् ।
अर्को कुरा, अरू देशलाई घिसारेर ल्याइएको छ । संवाद भइराखेको छ रे । अर्को देशलाई—इङ्ग्ल्यान्ड कि कुन पो भन्दै हुनुहुन्थ्यो उहाँले—दुईपक्षीय सीमासम्बन्धी वार्तामा सामेल गर्ने कुरा गर्नुभयो । यति अकुटनीतिक, अराजनीतिक र अभ्यासविपरीत कुरा पनि बोलिन्छ? हामीले हाम्रा छिमेकीसँग कुनै छलफल, विवाद वा समस्या परेमा आफैँ दुईपक्षीय रूपमा बसेर छलफल गर्छौँ, समाधान गर्छौँ । अर्को, तेस्रो पक्षलाई त्यहाँ सामेल गर्दैनौँ । प्रधानमन्त्रीले भने, यो नेपालको नीति हो । हामीले यो प्रक्रिया अगाडि बढाइसकेका छौँ । नेपाल तपाईंको घरको सम्पत्ति होइन। नेपाल भनेको तपाईं जन्मिनुभन्दा धेरै अगाडिदेखिको देश हो । यस देशले आफ्ना राष्ट्रिय हित, छिमेक सम्बन्ध, परराष्ट्र नीति तथा अन्य अनेक विषयमा स्थापित नीतिहरू तय गरेको छ र तिनैका आधारमा अगाडि बढेको छ । एकछिन कोही भुलचुकले, भवितव्यले गाईको त्रिशूलजस्तो प्रधानमन्त्री पदमा आइपुग्यो भन्दैमा देशको बारेमा जथाभावी गर्न मिल्दैन, र गर्न दिइने पनि छैन । यो कुरा म राख्न चाहन्छु । अब यस सम्बन्धमा थुप्रै विश्लेषण गर्नुपर्ने, व्याख्या गर्नुपर्ने, विरोध गर्नुपर्ने र खेद व्यक्त गर्नुपर्ने कुराहरू छन् । म कम्तीमा प्रतिपक्षका माननीयहरूलाई धन्यवाद भन्न चाहन्छु। उहाँहरूले राष्ट्रियताको पक्षमा उठेर बोल्नुभएको छ । बोल्दा अलि सुनिएन, हल्लाखल्ला भयो भनेर अलि माथि उभिएर पनि बोल्नुभयो रे ।
अब उनीहरूलाई कारबाही गर्ने रे । देशद्रोही कुरा गरेर, अर्काको भूमि—त्यही पनि भारतजस्तो विशाल देशको भूमि—धेरै ठाउँमा नेपालले मिचेको छ भनेर कसलाई के सबुत दिन खोजिएको हो ? यस्तो राष्ट्रघाती काम गर्दा प्रधानमन्त्रीका विरुद्ध कुनै रुलिङ नगर्ने, चुप लाग्नुस्, भन्न नसक्ने सभामुखले देशको पक्षमा बोल्नेलाई कारबाही गर्न समिति बनाउने ? गर्नुस्, गर्नुस् । देशको पक्षमा बोल्ने यी नेपाली जनतालाई कारबाही गर्नुस्, तपाईं के–के सक्नुहुन्छ । सांसद त्यहाँ तलब पचाउन गएका होइनन् । अरू कुन–कुन पार्टीका गएका होलान्, टेबुल ठोकेको पनि देखियो। सायद त्यस्ता कुरामा टेबुल ठोक्न पनि गएका होलान् । नेकपा एमालेका सांसदहरू देशको पक्षमा, लोकतन्त्रको पक्षमा, शान्ति–सुव्यवस्थाको पक्षमा, सुशासन र विकासको पक्षमा संघर्ष गर्न गएका हुन् । त्यहाँ आवाज उठाउन गएका हुन् । त्यसकारण नेकपा एमालेलाई कारबाही गर्छु भन्नुहुन्छ भने गर्नुस् । तपाईंहरू जालो बुनेको बुन्यै हुनुहुन्छ । केपी ओलीलाई गिरफ्तार गर्नुपर्छ भने गर्नुस् न। यहीँ छु त म। मैले भनेकै छु—यस्ताहरूले खुट्टा ढ्यापढ्याप गर्दैमा देश छोडेर भागिहिँड्ने मान्छे होइन म ।’
अध्यक्ष ओलीले देशको सीमाना र सार्वभौमसत्ताको रक्षाका लागि आफ्नो पार्टीले निरन्तर संघर्ष जारी राख्ने दृढता समेत व्यक्त गर्नुभयो ।



