

काठमाडौँ । अफ्रिकी देश कङ्गोमा फैलिएको इबोला भाइरसको प्रकोपप्रति विश्व स्वास्थ्य सङ्गठनले गम्भीर चिन्ता व्यक्त गरेको छ ।

सङ्गठनका महानिर्देशक टेड्रोस एड्हानोम घेब्रेयेससले परीक्षण तथा प्रयोगशाला सुविधामा सुधार भए पनि संक्रमण नियन्त्रणको प्रयास अझै पर्याप्त नभएको बताएका छन् । उनका अनुसार इबोलाको प्रकोप धेरै अघि बढिसकेको अवस्थामा स्वास्थ्य निकायहरू त्यसलाई नियन्त्रणमा ल्याउन संघर्ष गरिरहेका छन् ।
कङ्गोको पूर्वी क्षेत्रमा सुरक्षा अवस्था बिग्रिँदा स्वास्थ्य संकट झन् जटिल बनेको छ । नर्थ किभु प्रान्तको बेनी क्षेत्रमा इस्लामिक स्टेटसँग आबद्ध उग्रवादी समूह एलाइड डेमोक्रेटिक फोर्सेजले गरेको आक्रमणमा १६ जनाको मृत्यु भएको छ । सुरक्षा निकायका अनुसार कङ्गो र युगान्डाको संयुक्त सैन्य कारबाहीको प्रतिशोधस्वरूप उक्त आक्रमण गरिएको हो। यसअघि पनि उग्रवादीहरूले सीमावर्ती गाउँहरूमा आक्रमण गरी दर्जनौँ मानिसको ज्यान लिएका थिए। लगातारको हिंसा र असुरक्षाका कारण स्वास्थ्यकर्मीहरू प्रभावित क्षेत्रमा पुग्न कठिनाइ भोगिरहेका छन्।

मे महिनाको मध्यतिर घोषणा गरिएको यो प्रकोपपछि कङ्गोमा हालसम्म इबोलाका ३४४ संक्रमित फेला परिसकेका छन् । तीमध्ये ६० जनाको मृत्यु भएको छ । छिमेकी देश युगान्डामा पनि संक्रमण फैलिएको छ, जहाँ १५ संक्रमित पुष्टि भएका छन् भने एक जनाको मृत्यु भएको छ । शंकास्पद बिरामीको संख्या केही घटे पनि विज्ञहरूले वास्तविक अवस्था तथ्यांकले देखाएभन्दा गम्भीर हुन सक्ने चेतावनी दिएका छन् ।
हालै सबैभन्दा बढी प्रभावित क्षेत्रको भ्रमण गरेर फर्किएका टेड्रोसले प्रयोगशाला क्षमता विस्तार गरिएको र संक्रमण पहिचान गर्ने प्रक्रिया पहिलेभन्दा छिटो भएको बताएका छन् । उनले त्यहाँ देखिएको प्रगतिले आशा जगाएको भए पनि चुनौतीहरू अझै ठूलो रहेको उल्लेख गरे । उनले इबोलाको डरका कारण कङ्गोसँग आवतजावतमा प्रतिबन्ध लगाएका देशहरूलाई ती प्रतिबन्ध हटाउन पनि आग्रह गरेका छन् । उनका अनुसार यस्ता प्रतिबन्धले औषधि, स्वास्थ्य सामग्री र राहत कार्यमा असर पुर्याइरहेको छ ।
विज्ञहरूका अनुसार इबोला नियन्त्रणका लागि संक्रमित व्यक्तिको सम्पर्कमा आएका मानिसहरूको पहिचान र निगरानी अत्यन्त महत्वपूर्ण हुन्छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार हाल केवल ४५ प्रतिशत सम्पर्कहरूको मात्र निगरानी भइरहेको छ, जबकि संक्रमण नियन्त्रणका लागि यो दर ९० प्रतिशतभन्दा माथि हुनुपर्छ । असुरक्षा, विस्थापन र जनसंख्याको निरन्तर आवागमनका कारण यो काम चुनौतीपूर्ण बनेको छ ।

यसपटक फैलिएको इबोला भाइरस ‘बुन्डिबुग्यो’ प्रकारको भएको बताइएको छ, जसका लागि हालसम्म स्वीकृत खोप वा प्रभावकारी औषधि उपलब्ध छैन । विज्ञहरूका अनुसार सम्भावित खोप विकास गरी प्रभावित क्षेत्रमा पुर्याउन अझै केही महिना लाग्न सक्छ। यद्यपि हालसम्म कम्तीमा पाँच जना बिरामी निको भएको जानकारी सार्वजनिक भएकाले केही आशा कायम रहेको छ ।
स्वास्थ्य अधिकारीहरूका लागि अर्को ठूलो समस्या स्थानीय समुदायमा फैलिएका भ्रम र गलत धारणाहरू हुन् । धेरै मानिसहरूले अझै इबोला भाइरसको अस्तित्वमै विश्वास नगरेकाले संक्रमितहरू समयमै उपचारका लागि नआउने गरेका छन्। केही क्षेत्रमा स्थानीय बासिन्दाले स्वास्थ्य केन्द्रमाथि आक्रमणसमेत गरेका छन् भने आफन्तको शव फिर्ता लैजान खोजेका घटनाहरू पनि भएका छन्। यसले संक्रमण फैलिने जोखिम थप बढाएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।



