

भारत सरकारले नयाँ दिल्लीको वायु प्रदुषण कम गर्ने उद्देश्यका साथ सवारी साधन प्रतिस्थापनको दुई वर्षे योजना सार्वजनिक गरेको छ । यस योजनाले वातावरणमैत्री यातायात प्रविधिलाई बढावा दिँदै सवारी साधनबाट हुने प्रदूषण न्युनिकरण गर्ने लक्ष्य राखेको छ ।

कुल ९५ अर्ब ८५ करोड भारतीय रुपैयाँ (करिब १ अर्ब अमेरिकी डलर) को वित्तीय बजेट विनियोजन गरिएको यस योजनाअन्तर्गत दिल्ली–राष्ट्रिय राजधानी क्षेत्र (एनसीआर) मा दर्ता भएका पुराना ट्रक र बसहरूलाई नयाँ तथा विशेष गरी विद्युतीय सवारी साधन (इभी) द्वारा प्रतिस्थापन गर्न प्रोत्साहन गरिनेछ। संघीय मन्त्रिपरिषद्द्वारा जारी विज्ञप्तिअनुसार पुराना सवारी साधनका धनीहरूलाई नयाँ सवारी साधन खरिदमा विभिन्न सहुलियतहरू प्रदान गरिनेछ । सरकारले सवारी साधन खरिदका लागि लिइने ऋणमा पाँच वर्षसम्म ५ प्रतिशत ब्याज अनुदान उपलब्ध गराउने व्यवस्था गरेको छ ।

यसका साथै, सवारी साधनको श्रेणी हेरेर मासिक ४ हजार ८ सय भारतीय रुपैयाँसम्मको इन्धन भौचर र विद्युतीय सवारी साधन खरिद गर्नेहरूका लागि एकमुष्ट सहुलियत समेत प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ । यो योजनाको कार्यान्वयनले सवारी साधनबाट हुने हानिकारक उत्सर्जनलाई उल्लेख्य रूपमा कम गर्ने र भारतीय राजधानीको वायुको गुणस्तरमा सुधार ल्याउन महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।



