

सन् २०२५ को वार्षिक सौर्य ऊर्जा क्षमता विस्तारमा भारतले संयुक्त राज्य अमेरिकालाई पछि पार्दै विश्वकै दोस्रो ठूलो सौर्य विकास बजार बन्न सफल भएको छ । संघीय नवीन तथा नवीकरणीय ऊर्जा मन्त्री प्रल्हाद जोशीले यस महत्वपूर्ण उपलब्धिको घोषणा गर्नुभएको हो ।

मन्त्री जोशीले भारतको सौर्य ऊर्जा विकासको यात्राले विश्वव्यापी मानक स्थापित गरिरहेको उल्लेख गर्दै सशक्त नीतिगत व्यवस्था, नवीनता र विश्वस्तरीय पूर्वाधारका कारण यो ऐतिहासिक क्षमता वृद्धि सम्भव भएको बताउनु भयो । उहाँकाअनुसार भारतको यो उपलब्धिले विश्व ऊर्जा बजारमा नयाँ बेन्चमार्क खडा गरेको छ ।

विभिन्न प्रतिवेदनहरूका अनुसार, सन् २०२५ मा भारतले ३७ गिगावाट सौर्य ऊर्जा क्षमता थप गरेको छ । सोही अवधिमा संयुक्त राज्य अमेरिकाले भने ३४ गिगावाट क्षमता थप गरेको छ । यस वृद्धिसँगै भारत सौर्य ऊर्जाको क्षेत्रमा विश्वकै दोस्रो तीव्र गतिमा विस्तार भइरहेको बजारको रूपमा स्थापित भएको छ ।



