

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका धवलशमशेर राणा र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं बीच नयाँ राजनीतिक दल गठन गर्ने सहमति भएको छ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा राणा र प्रसाईंले ११ बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै राष्ट्रवादी राजनीतिक शक्ति निर्माणका लागि संयुक्त रूपमा अघि बढ्ने घोषणा गरेका हुन्।
सहमतिपत्रमा किरात, बौद्ध तथा वैदिक सनातन परम्परालाई समेट्ने हिन्दु अधिराज्यसहितको राष्ट्रवादी शक्ति निर्माण गर्ने प्रतिज्ञा गरिएको छ। साथै संवैधानिक राजसंस्थाको पुनर्स्थापनाका लागि सशक्त, लोकतान्त्रिक तथा राष्ट्रवादी राजनीतिक शक्तिको आवश्यकता रहेको निष्कर्ष निकाल्दै नयाँ दल गठनको तयारी अघि बढाइएको उल्लेख गरिएको छ।

दुवै पक्षले नेपालको राष्ट्रिय एकता, सार्वभौमिकता र सांस्कृतिक पहिचानलाई केन्द्रमा राखेर पृथ्वीनारायण शाह का दिव्य उपदेशमा आधारित राष्ट्रवादी दर्शनलाई मार्गदर्शक सिद्धान्तका रूपमा अंगाल्ने नीति लिएका छन्।
सहमतिमा सुधारमुखी संघीयता, ‘एक पटकको नेपाली सधैंको नेपाली’ अवधारणा तथा गैरआवासीय नेपालीलाई दोहोरो नागरिकताको व्यवस्था गर्ने विषयसमेत समेटिएको छ।
त्यसैगरी विचार, सिद्धान्त र उद्देश्य मिल्ने अन्य राजनीतिक दल, अभियान, संघसंस्था तथा व्यक्तिहरूलाई समेत समेटेर निकट भविष्यमा नयाँ राजनीतिक दल घोषणा गर्ने सहमति भएको जनाइएको छ।
राणा र प्रसाईंबीच भएको यो सहमतिलाई पछिल्लो समय राजसंस्था पुनर्स्थापना र राष्ट्रवादी राजनीतिक ध्रुवीकरणको प्रयासका रूपमा हेरिएको छ। नयाँ दलको औपचारिक घोषणा र नेतृत्व संरचनाबारे भने दुवै पक्षले हालसम्म विस्तृत जानकारी सार्वजनिक गरेका छैनन्।





