

घानाको राजधानी आक्रामा बुधबारदेखि तीन दिने वेस्ट अफ्रिका माइनिङ एण्ड पावर एक्स्पो (पश्चिम अफ्रिका खानी तथा ऊर्जा प्रदर्शनी) शुरु भएको छ । घाना चेम्बर अफ माइन्सद्वारा आयोजित यस प्रदर्शनीमा विश्वभरका २० भन्दा बढी देशका प्रदर्शकहरूको सहभागिता रहेको छ ।
यस अन्तर्राष्ट्रिय मेलामा आयोजक घानासहित चीन, दक्षिण अफ्रिका, भारत, अष्ट्रेलिया, जर्मनी, फ्रान्स, संयुक्त राज्य अमेरिका र संयुक्त अरब इमिरेट्स लगायतका मुलुकहरूबाट प्रमुख उद्योगी तथा विशेषज्ञहरू सहभागी छन् ।

प्रदर्शनीको उद्घाटन सत्रलाई सम्बोधन गर्दै घानाका भूमि तथा प्राकृतिक स्रोत मन्त्री इमानुएल आर्मा–कोफी बुआले घानाको लक्ष्य अफ्रिकामा सुन उत्पादनको अग्रणी स्थान मात्र कायम राख्नु नभई यस क्षेत्रमा व्यापक सुधार गर्नु रहेको बताउनु भयो । मन्त्री बुआले अबको ध्यान प्राकृतिक स्रोतको निकासी मात्र नभई खानी क्षेत्रबाट मूल्य अभिवृद्धि (भ्यालु क्रिएसन) गर्ने, रोजगारी सिर्जना गर्ने र स्थानीय जनताको जीवनस्तर सुधार्नेतर्फ केन्द्रित हुने स्पष्ट पार्नुभयो । उहाँले वातावरणीय, सामाजिक र सुशासन (ईएसजी) का उच्च मापदण्डहरू पालना गर्दै उद्योगको विकास गर्ने सरकारी नीति रहेको उल्लेख गर्नुभयो ।

सोही अवसरमा नाइजेरियाका ठोस खनिज विकास मन्त्री ओलादेले हेनरी अलाकेले विश्वव्यापी रूपमा स्वच्छ ऊर्जा प्रविधि, विद्युतीय सवारी साधन र डिजिटल पूर्वाधारको विकाससँगै महत्वपूर्ण खनिजहरूको माग तिब्र गतिमा बढिरहेको बताउनु भयो । यस्ता खनिजहरू पश्चिम अफ्रिकामा प्रचुर मात्रामा उपलब्ध रहेको उल्लेख गर्दै उहाँले अफ्रिका अब कच्चा पदार्थको आपूर्तिकर्तामा मात्र सीमित हुन नहुनेमा जोड दिनुभयो ।
मन्त्री अलाकेकाअनुसार जिम्मेवार खानी उत्खनन, स्थानीय स्तरमा प्रशोधन र क्षेत्रीय औद्योगिक एकीकरणमार्फत अफ्रिकाले विश्व बजारमा आफ्नो भुमिकालाई सशक्त बनाउनुपर्ने यो महत्वपूर्ण अवसर हो । यस प्रदर्शनीले अफ्रिकी मुलुकहरूलाई खनिज स्रोतको उच्चतम उपयोग गर्दै आर्थिक समृद्धि हासिल गर्न मार्गप्रशस्त गर्ने अपेक्षा गरिएको छ ।



