

कम्बोडियामा लान्काङ-मेकोङ सहयोग (एलएमसी) विशेष कोष २०२६ अन्तर्गत सञ्चालन हुने विभिन्न परियोजनाहरूका लागि औपचारिक सम्झौता भएको छ । कम्बोडियाली परराष्ट्र मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार राजधानी नोम पेन्हमा आयोजित एक समारोहबीच उक्त सम्झौतामा हस्ताक्षर गरिएको हो ।

समारोहमा कम्बोडियाका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री प्राक सोखोन र कम्बोडियाका लागि चिनियाँ राजदूत वाङ वेनबिनको उपस्थिति रहेको थियो । सो अवसरमा बोल्दै उपप्रधानमन्त्री सोखोनले एलएमसी विशेष कोषले कम्बोडिया र यस क्षेत्रका अन्य सदस्य राष्ट्रका नागरिकहरूका लागि दीर्घकालीन र ठोस लाभ प्रदान गरेको बताउनु भयो ।

चिनियाँ राजदूत वाङ वेनबिनले एलएमसीले साझा भविष्य निर्माणका लागि क्षेत्रीय विकासलाई प्राथमिकता दिएको र यसले स्थानीय जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याएको उल्लेख गर्नुभयो । चीनले कम्बोडिया र अन्य मेकोङ राष्ट्रहरूसँगको सहकार्यलाई थप सुदृढ बनाउँदै यी परियोजनाहरूबाट यस क्षेत्रका जनताले अधिकतम लाभ प्राप्त गर्ने कुरा सुनिश्चित गर्न प्रतिवद्ध रहेको उहाँको भनाइ थियो ।
लान्काङ–मेकोङ सहयोग (एलएमसी) समूहमा चीन, म्यानमार, थाइल्याण्ड, लाओस, कम्बोडिया र भियतनाम सदस्य राष्ट्रका रूपमा रहेका छन् ।



