

हंगेरीले युक्रेनको युरोपेली संघ (ईयू) सदस्यताका लागि पहिलो चरणको वार्ता प्रक्रिया (नेगोसिएसन क्लस्टर) अगाडि बढाउन सहमति प्रदान गरेको छ । हंगेरीका प्रधानमन्त्री पिटर माग्यारले बिहीबार यसको औपचारिक पुष्टि गर्नुभएको हो । आयरल्याण्डका समकक्षी मिचेल मार्टिनसँग बुडापेस्टमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री माग्यारले भन्नुभयो, ‘हामीले राजदूत स्तरमा युक्रेनको ईयू प्रवेश वार्ताको पहिलो क्लस्टर खोल्ने निर्णयलाई अनुमोदन गरेका छौँ ।’

युक्रेनको ट्रान्सकारपाथिया क्षेत्रमा बसोवास गर्ने हंगेरियन अल्पसंख्यक समुदायको भाषिक, सांस्कृतिक, शैक्षिक र राजनीतिक अधिकारका विषयमा कीभ र बुडापेस्टबीच सहमति जुटेपछि हंगेरी यो निर्णयमा पुगेको हो । युक्रेनले अल्पसंख्यक अधिकार रक्षाका लागि आवश्यक कानुनी परिवर्तनहरू कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएकाले वार्ता प्रक्रियामा समर्थन गरिएको प्रधानमन्त्री माग्यारले प्रष्ट पार्नुभयो ।


नयाँ हंगेरियन सरकार गठन भएपछि बुडापेस्ट भ्रमण गर्ने मार्टिन पहिलो विदेशी सरकार प्रमुख हुनुहुन्छ । आगामी जुलाई १ देखि आयरल्याण्डले ईयू काउन्सिलको चक्रीय अध्यक्षता ग्रहण गर्दैछ ।
सो अवसरमा प्रधानमन्त्री माग्यारले युरोपेली मामिलामा आयरल्याण्डको व्यावहारिक दृष्टिकोणको प्रशंसा गर्नुभयो । उहाँले आप्रवासन जस्ता कतिपय मुद्दामा मतभिन्नता रहे पनि हंगेरी ईयूको निर्णय प्रक्रियामा एक रचनात्मक साझेदार बन्न र संघको प्रतिस्पर्धात्मकता सुदृढ पार्न इच्छुक रहेको बताउनु भयो ।
आयरल्याण्डका नेता मिचेल मार्टिनले कानुनी शासन र लोकतान्त्रिक मूल्य मान्यताको सुदृढीकरणका लागि हंगेरीले व्यक्त गरेको प्रतिबद्धताको स्वागत गर्नुभयो । उहाँले आयरल्याण्डको आगामी अध्यक्षताको अवधिमा हंगेरीको सुधार प्रक्रियालाई पूर्ण समर्थन रहने विश्वास समेत दिलाउनु भयो ।



