

सञ्जय मिश्रा/ पटना, २३ जेठ। भारत बिहारका पूर्व मुख्यमन्त्री लालु प्रसाद यादव र राबडी देवीको सरकारी निवास अगाडि शनिबार बिहान कुनै पनि सुरक्षाकर्मी देखिएका छैनन्।
सरकारले १० सर्कुलर रोडस्थित उनीहरूको सरकारी आवासमा तैनाथ गरिएको जेड प्लस श्रेणीको सुरक्षा फिर्ता लिएपछि सुरक्षाको सम्पूर्ण व्यवस्था परिवर्तन गरिएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेको छ।

जेड प्लस सुरक्षा हटाइए पछि नयाँ सुरक्षा व्यवस्था अन्तर्गत सीमित सुरक्षाकर्मी खटाइएका थिए। तर पछिल्लो निर्णयपछि ती सुरक्षाकर्मीलाई समेत निवासबाट फिर्ता पठाइएको बताइएको छ। यससँगै लालु–राबडीको निवासमा अहिले कुनै पनि सुरक्षा उपस्थिति नरहेको अवस्था देखिएको छ।
के हो जेड प्लस सुरक्षा ?
जेड प्लस सुरक्षा भारतमा सबैभन्दा उच्च स्तरका सुरक्षा श्रेणीहरूमध्ये एक हो। यसमा सामान्यतया सुरक्षाकर्मी संख्या करिब ५५ देखि ६० जना र कहिलेकाहीँ परिस्थिति अनुसार बढ्न र घट्न सक्छ । मुख्य सुरक्षाकर्मी एन एसजी अर्थात नेशनल सेक्युरिटी गार्डका प्रशिक्षित कमाण्डोहरू रहने छन् भने अन्य सहयोगीमा सी आरपिएफ, सिआई एसएफ वा राज्य पुलिसका सुरक्षाकर्मीहरू रहने छन् । सवारीसाधनमा बुलेट प्रुफ गाडीहरू र एस्कर्ट वाहन तथा एके–४७ ईन्सास राइफल, ९ एम एम पेस्तोल रहने छ ।केही कमाण्डोहरूसँग स्नाइपर सपोर्ट क्षमता पनि हुन सक्छ, सुरक्षा व्यवस्थामा २४ औँ घण्टा पर्सनल बडीगार्ड, आवास सुरक्षा र यात्रा एस्कर्ट रहनेछ ।

जेड प्लस सुरक्षा सामान्यतया धेरै उच्च जोखिम भएका व्यक्तिहरू राजनीतिज्ञ, उच्च पदाधिकारी, संवेदनशील व्यक्तित्वलाई मात्र दिइन्छ।
यादव भारतको बिहार राज्यका चर्चित राजनीतिक नेता हुन्। उनी राष्ट्रिय जनता दलका संस्थापक अध्यक्ष हुन्, उनी बिहारका पूर्व मुख्यमन्त्री र भारत सरकारमा पूर्व रेल मन्त्री रहेका थिए ।
जो सामाजिक न्याय र पिछडिएका वर्गका लागि आवाज उठाउने नेताको रूपमा चिनिन्छन् ।
लालु यादवले सन १९९० को दशकमा बिहारको राजनीतिमा ठूलो प्रभाव जमाएका थिए। उनी लामो समयसम्म राज्यको मुख्यमन्त्री समेत बने। रेलमन्त्री हुँदा उनले भारतीय रेलवेमा सुधार र लोकप्रिय निर्णयहरूका लागि चर्चा कमाएका थिए। तर उनी विभिन्न भ्रष्टाचार मुद्दामा पनि विवादित बने र कानुनी मुद्दा सामना गरिरहेका छन्।



