
नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूवगृहमन्त्री नारायणकाजी श्रेष्ठले सडकआश्रित नागरिकको व्यवस्थापनमा राज्य पूर्ण रुपमा असफल भएको बताउनु भएको छ । काठमाडौं महानगरपालिकालाई ‘सडकआश्रित मानवमुक्त’ घोषणा गर्न सोमवार आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले आफू समेत विभिन्न समयमा सरकार र राज्यका जिम्मेवार पदमा रहेकाले यस अवस्थाप्रति जिम्मेवार रहेको भन्दै नेपाली जनतासँग माफी समेत माग्नुभयो । श्रेष्ठले सामाजिक–आर्थिक रूपान्तरण, विकास र समृद्धिका क्षेत्रमा पर्याप्त काम गर्न नसकेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘म विभिन्न समयमा सरकारमा, राज्यको ओहोदामा बसेको कारणले सडकआश्रिक नागरिकको व्यवस्थापन गर्ने कुरा राज्यको प्रमुख दायित्व हो । यद्धपी राज्यले मात्रै त कतैपनि दुनियमा यो गर्न सक्दैन । तरपनि प्रमुख भूमिका राज्यकै हुनुपर्छ । राज्यले सामाजिक आर्थिक रुपान्तरण, विकास र समृद्धिसहितका कुरामा फड्को मार्नेदेखि यस क्षेत्रमा जति काम गर्नुपर्ने थियो गर्न सकेन । म आफू पनि एक हदसम्म जिम्मेवार ठहराउँदै नेपाली जनतासामू आत्मआलोचना गर्न चाहान्छु, माफी माग्न चाहान्छु । अब हामी सबै मिलेर यो कामलाई अगाडि बढाउनुछ ।’

विगतका कमीकमजोरी स्वीकार्दै सबै पक्षको आपसि सहकार्यका नागरिकलाई सम्मानजनक रुपमा बाँच्ने वातावरणको सिर्जना गर्नुपर्नेमा श्रेष्ठको जोड छ ।





