नेपाल–भारतबीच डिजिटल रेमिट्यान्स सेवा सुरु, अब मोबाइलबाटै सिधै पैसा पठाउन सकिने

काठमाडौं । नेपाल र भारतबीच डिजिटल रेमिट्यान्स सेवा औपचारिक रूपमा कार्यान्वयनमा आएको छ। नेपाल क्लियरिङ हाउस (एनसीएचएल) र भारतको नेसनल पेमेन्ट कर्पोरेसन अफ इन्डिया (एनपीसीआई) बीचको प्राविधिक एकीकरणपछि अब दुवै देशका नागरिकले बैंक खाता तथा मोबाइल बैंकिङमार्फत सिधै रकम पठाउन र प्राप्त गर्न सक्ने भएका छन्।

 

दुई देशका भुक्तानी प्रणाली एनपीआई र यूपीआई जोडिएसँगै भारतमा रहेका नेपाली तथा नेपालमा कार्यरत भारतीय नागरिकले सहज, छिटो र सुरक्षित रूपमा डिजिटल माध्यमबाट रेमिट्यान्स पठाउन सक्ने व्यवस्था लागू भएको हो। नेपाल राष्ट्र बैंकका अनुसार पहिलो चरणमा एभरेस्ट, ग्लोबल आईएमई, माछापुच्छ्रे, नबिल, नेपाल एसबीआई, हिमालयन, एनएमबी र सिद्धार्थ बैंकमार्फत सेवा उपलब्ध हुनेछ।

भारतबाट नेपालमा प्रतिकारोबार २ लाख भारतीय रुपैयाँसम्म पठाउन सकिनेछ भने नेपालबाट भारततर्फ प्रतिकारोबार १५ हजार भारतीय रुपैयाँ र मासिक १ लाख भारतीय रुपैयाँसम्म पठाउन सकिने व्यवस्था गरिएको छ। राष्ट्र बैंकले यस सेवाले हुन्डीजस्ता अवैध कारोबार नियन्त्रण गर्न, रेमिट्यान्सलाई सुरक्षित र पारदर्शी बनाउन तथा श्रमिकलाई कम लागतमा रकम पठाउन सहयोग पुग्ने जनाएको छ।

#Remittance #DigitalPayment #NepalIndia #UPI #Banking #NepalNews #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD