
इरानको परराष्ट्र मन्त्रालयले पछिल्लो २४ घण्टामा विकसित घटनाक्रमले तेहरान र वासिङ्टनबीच द्वन्द्व अन्त्यका लागि भइरहेको कुटनीतिक प्रक्रियालाई थप अस्तव्यस्त बनाएको बताएको छ । मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले साप्ताहिक पत्रकार सम्मेलनमा यस्तो धारणा राख्नुभएको हो ।

इजरायल र इरानबीच बढ्दो सैन्य तनावका सन्दर्भमा बोल्दै प्रवक्ता बाघेईले दक्षिण लेबनान र बेरुतको दहियाह जिल्लामा इजरायली आक्रमणको प्रतिशोधस्वरूप इस्लामिक रिभोल्युसनरी गार्ड क्रप्स (आईआरजीसी) ले गरेको मिसाइल प्रहारपछिको परिस्थितिको चर्चा गर्नुभयो । उहाँले पछिल्ला हप्ताहरूमा अमेरिकाको विरोधाभासपूर्ण भनाइ र व्यवहारले कूटनीतिक प्रक्रियामा अन्योल सिर्जना गरेको आरोप लगाउनु भयो ।

बाघेईले इरानको राष्ट्रिय स्वार्थ र सुरक्षाका लागि आवश्यक परेको खण्डमा सैन्य कारबाहीलाई निरन्तरता दिने स्पष्ट पार्नुभयो । उहाँले इरान र संयुक्त राज्य अमेरिकाबीच सन्देश आदानप्रदानको क्रम भने जारी रहेको जानकारी दिनुभयो । यसैबीच, आईआरजीसीले आइतबार लेबनानमा इजरायलले गरेको व्यापक अपराधको जवाफमा उत्तरी इजरायलको रमत डेभिड एयर बेसलाई निशाना बनाएको जनाएको छ । अर्कोतर्फ, इजरायली सेनाले इरानको दक्षिण–पश्चिमी प्रान्त खुजेस्तानमा रहेको एउटा पेट्रोकेमिकल कम्पनीसहित विभिन्न स्थानमा हवाई आक्रमण गरेको छ ।

क्षेत्रीय तनाव कम गर्ने प्रयासस्वरूप आइतबार साँझ इरानी विदेशमन्त्री सैयद अब्बास अराघची र इराकी विदेशमन्त्री फुुआद हुसेनबीच टेलिफोन वार्ता भएको छ । वार्ताका क्रममा उनीहरूले क्षेत्रीय स्थिरता अभिवृद्धि गर्न कुटनीतिक प्रयासहरूलाई तीव्र बनाउनुपर्ने आवश्यकतामा जोड दिएका छन् । दुई मन्त्रीहरूले इरान र अमेरिकाबीचको संवाद र यसको सम्भावनाबारे समेत छलफल गर्दै क्षेत्रीय विकासका मुद्दाहरूमा निरन्तर समन्वय कायम राख्ने सहमति व्यक्त गरेका छन् ।





