विराट कोहली भारतको सबैभन्दा मूल्यवान व्यक्तित्व

काठमाडौं । भारतीय क्रिकेटका स्टार विराट कोहली भारतका सबैभन्दा मूल्यवान व्यक्तित्वको सूचीमा पहिलो स्थानमा परेका छन् । उनको ब्रान्ड मूल्य ३ अर्ब ५४ करोड २० लाख भारतीय रुपैयाँ रहेको छ । फर्च्युन इन्डिया र इन्टरब्रान्डले संयुक्त रूपमा सार्वजनिक गरेको भारतका २५ सबैभन्दा मूल्यवान चर्चित व्यक्तित्वहरूको अध्ययनमा अभिनेता शाहरुख खान दोस्रो तथा अभिनेत्री प्रियंका चोपडा जोनस तेस्रो स्थानमा रहेका छन् ।

 

अध्ययनअनुसार शीर्ष १० स्थानभित्र तीन जना क्रिकेटर र सात जना चलचित्र क्षेत्रसँग सम्बन्धित व्यक्तित्व परेका छन् । महिला व्यक्तित्वतर्फ प्रियंका चोपडा जोनस सबैभन्दा माथिल्लो स्थानमा रहेकी छन् । यसबाहेक दीपिका पादुकोण ११औँ, रश्मिका मन्दाना १७औँ स्थानमा परेका छन् । सूचीमा कृति सेनन, भारतीय महिला क्रिकेट टोलीकी खेलाडी स्मृति मन्धाना तथा दक्षिण भारतीय चलचित्रकी चर्चित अभिनेत्री नयनताराले पनि स्थान बनाएका छन् ।

त्यस्तै गायक तथा अभिनेता दिलजीत दोसाञ्झ, चलचित्र निर्माता करण जोहर, पूर्व क्रिकेटर सौरभ गांगुली र अभिनेता विक्की कौशल पनि सबैभन्दा मूल्यवान व्यक्तित्वहरूको सूचीमा समावेश छन् ।

अध्ययनमा व्यक्तित्वहरूको मूल्याङ्कन गर्दा केवल आम्दानी, सामाजिक सञ्जालका अनुयायीको संख्या वा चलचित्रको व्यापारिक सफलतालाई मात्र आधार बनाइएको छैन । विशिष्टता, निरन्तरता, जनसम्पर्क, विश्वास, आत्मीयता र सामाजिक जिम्मेवारीजस्ता पक्षहरूलाई समेत समेटेर अन्तिम ब्रान्ड मूल्य निर्धारण गरिएको अध्ययनमा उल्लेख छ ।